२०८३ वैशाख ५ , शनिबार

धुलियाबिटमा पासोमा पर्यो चितुवा

बन्यजन्तुको संख्यामा बृद्धि, स्थानीयलाई त्रास


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–११ धुलियाबिटमा स्थानीयले थापेको पासोमा चितुवा परेको छ । स्थानीयले बाँदरका लागि थापेको पासोमा चितुवा परेको डिभिजन वन कार्यालय सुर्खेतका डिभिजनल वन अधिकृ बसन्त श्रेष्ठले जानकारी दिए । ‘मकै बारीमा बाँदरलाई थापेको पासोमा चितुवा परेको खबर आएको छ’ उनले भने, ‘हाम्रो टोली घटनास्थल पुगेको छ, केही क्षणमा उद्दार हुन्छ ।’ पछिल्लो समय किसानले लगाएको मकै बारी बाँदरले सखाप पार्न थालेपछि स्थानीयले बाँदरका लागि पासो थाप्न थाप्ने गरेका छन् । सोमबार मात्र सुर्खेतको लेकवेशी नगरपालिका–७ लमना पनि बाँदरलाई थापेको पासोमा चितुवा परेको थियो । त्यहाँपनि कृषकको मकै बाँदरले सखाप पार्न थालेपछि पासो थापेका थिए । लेकबेशीमा पासोमा परेको चितुवालाई उद्दार गरेर बर्दिया राष्ट्रिय निकुञ्जमा पठाएको थियो । लेकवेशीमा इलाका प्रहरी कार्यालय लेकवेशीका प्रहरी नायब निरीक्षक मनिष गुरुङसहितको चितुवाको उद्दार गरेको थियो । बनमा खाने कुराको अभाव हुँदा बाँदरहरु किसानको खेतबारीमा आउने गरेका छन् । पहिले जस्तो जंगलमा बाँदरको आहार मासिँदै गएको छ । बनजंगल बढ्न थालेपछि बाघ, चितुवा लगायतका जंगल जनावरको संख्या पनि बृद्धि हुँदै गएको छ । राष्ट्रिय निकञ्जु र मध्यवर्ती क्षेत्रमा बाघ, भालु, चितुवा जस्ता जनावरले स्थानीयलाई आक्रमण गर्ने र ज्यान समेत लिने घटनाहरु बढ्दै गएका छन् ।

प्रकाशित मिति : २०८२ भदौ १७ गते मंगलबार