२०८३ वैशाख ५ , शनिबार

सल्यानका ३ जना भारतको रुद्रप्रयागमा बेपत्ता



सुर्खेत । मजदुरीका लागि भारत गएका सल्यानका तीन जना वेपत्ता भएका छन् । वेपत्ता हुनेहरुमा सल्यानको बनगाड कुपिन्डे नगरपालिका–६ कालागाउँका ४९ वर्षीय शरद आग्री, उनका छोरा २४ वर्षीय दीपक र वडा नं ५ राउचेका ६९ वर्षीय भीमबहादुर बुढा छन् । उनीहरु गएको शुक्रबार भारतको उत्तराखण्ड रुद्रप्रयाग जिल्लाको छेनागाडमा गत शुक्रबार राति आएको बाढीपहिरोमा परी वेपत्ता भएका हुन् ।
‘शुक्रबारदेखि नै बुबा र दाइ बेपत्ता भएका र अहिलेसम्म सम्पर्कमा आउन नसकेको उता रहेका नेपालीले खबर गरेका छन्,’ शरदका छोरा दुर्गा आग्रीले भने, ’अहिलेसम्म सम्पर्कमा आउन नसकेपछि खोजीका लागि म पनि भारत लागेको छु ।’ बेपत्ता भीमबहादुरका छोरा सुरेश बुढाले खोजीमा लाग्न स्थानीयलाई समेत आग्रह गरेका छन् । उनी पनि भारत जाँदै छन् ।
भदौ १२ गते राति छेनागाडमा भारी वर्षा भएको थियो । बाढीपहिरो जाँदा त्यहाँका धेरै घरमा क्षति पुगेको र आठ जना बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले भने पहिरोमा परी आठ जना बेपत्ता भएको जानकारी आए पनि सल्यानका कति परे अहिलेसम्म कसैले जानकारी नगराएको बताएका छन् । वेपत्ता तीनै जना गत साउन १६ गते खेतीपाती सकेर दसैं खर्च जोहो गर्न भारत पुगेका थिए ।

प्रकाशित मिति : २०८२ भदौ १७ गते मंगलबार