
सुर्खेत । जुम्लादेखि स्याउ बोकेर सुर्खेत तथा नेपालगञ्जका लागि छुटेका २० वटा ट्रक कर्णाली राजमार्गमा अलपत्र परेका छन् । विगतको तुलनामा यस वर्ष ढिला गुल्कोजको मात्र भरिएको र पाकेको स्याउ निर्यात भएकाले निर्वाध रूपमा गन्तव्य पुग्न नसकेमा स्याउ कुहिने जोखिम बढ्ने कृषि विज्ञहरू बताउँछन् । सीमावर्ती क्षेत्र नाग्म प्रहरी चौकीका अनुसार भदौ १४ गतेदेखि १६ गते बिहानसम्म २० वटा स्याउ ट्रक जुम्लाबाट गएका छन् । भदौ १४ गते ८ वटा, भदौ १५ गते ११ वटा ट्रक र भदौ १६ गते अर्थात १ वटा गरी जम्मा २० वटा ट्रकले स्याउ बोकेर गएको नाग्म प्रहरी चौकीका असई यम शर्माले जानकारी दिए । २० वटा ट्रक भण्डै सात सय ९ क्विन्टल स्याउ छ ।
अविरल वर्षापछि आएको पहिराले भदौ १४ गते बिहानदेखि नै कर्णाली राजमार्ग अबरुद्ध छ । राजमार्गको कालिकोट शुभकालिका गाउँपालिका–१ गगनेखोलामा ठूलो पहिरो गएको छ । पहिरोमा आएका ठूल–ठूला ढुङ्गाका कारण सडक खुलाउन समस्या भएको छ ।
सोमबार मात्र जिल्ला सुरक्षा समितिको बैठकले ढुङ्गा फुटाउन ब्यास्टिङ (विस्फोट) गराउनका लागि नेपाली सेनाको सहयोग माग गरेको छ । संघीय सरकारको रक्षा मन्त्रालयलाई विस्फोटका लागि सेनालाई समन्व गरिदिन आग्रह गरेको हो ।
भौगोलिक रूपमा भिरालो क्षेत्र र स्थानीय तहले जथाभावी निर्माण गरेको सडकका कारणले वर्षा हुने वित्तिकै कर्णाली राजमार्गमा पहिरोको उच्च जोखिम रहेको छ । गत वर्ष पनि भदौ १३ देखि १६ गतेसम्म सडक अवरुद्ध भएपछि ६३ वटा स्याउ बोकेका ट्रक अलपत्र परेको थियो ।
गगने खोलामा ठुला ढुङ्गा आएको र ब्रेकरले पनि ढुङ्गा फुटाउन सम्भव नभएपछि ब्लास्टिङ गर्ने तयारी भइरहेको छ । न्यूनतम १२ क्विन्टलदेखि अधिकतम् ४० क्विन्टलसम्म स्याउ व्यापारीले बिक्रीका लागि लिएको पाइएको छ । लगातार दुई दिनदेखि बाटोमै स्याउ थन्किएपछि कुहिने जोखिम बढेको व्यापारी हरिसिंह नेपालीले जानकारी दिए । जुम्लादेखि स्याउ लिएर गएका कालीबहादुर रोकायाले अहिलेको वर्ष पनि पहिरोले सास्ती खेप्नु परिरहेको बताए । उनले ४ हजार केजी स्याउ बिक्रीका लागि लिएका छन् । दुई दिनसम्म बाटोमै थन्किएकाले बजारमा स्याउ पु¥याउन कठिन भएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्