२०८३ वैशाख ५ , शनिबार

सेनाको सहयोगमा कर्णाली राजमार्ग खुलाउने तयारी

स्काभेटरको प्रयास असफल, अब विस्फोटक गराएर ढुङ्गा फुटाइने


सुर्खेत । पहिरोका कारण कर्णाली राजमार्ग पछिल्लो तीन दिनदेखि अबरुद्ध छ । कालिकोटको शुभकालिका–१ गगने खोलामा गएको पहिरो पन्छाउन नसक्दा सडक अरुद्ध रहेको हो । दुई वटा स्काभेटर लगाएर पहिरो पन्छाउने काम जारी छ । तर पहिरो गएको स्थानमा ठूलठूला ढुंगा भएका कारण पन्छाउन समस्या भएको छ । सोमबार पनि ठूला ढुंगाहरु पन्छाउन सम्भव नभएको खण्डमा विष्फोट गराएर बाटो खुलाउने तयारी रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । ‘सम्भवत सोमबारसम्म पहिरो पन्छाइ सकिन्छ होला’ कार्यालयका दीपेन्द्रकुमार चौधरीले भने, ‘ठूला ढुंङ्गाहरुमा विस्फोट गराउनुपर्ने अवस्था आउन सक्छ ।’ स्काभेटरले ढुङ्गाहरु पन्छाउन सम्भव नभएको खण्डमा विस्फोटक पदार्थ प्रयोग गरेर ठूला ढुङ्गाहरु फुटाएर भएपनि अबरुद्ध सडक खुलाउने तयारी भइरहेको उनको भनाइ छ ।


ठूला ढुंगा फुटाउन मेसिन (ब्रेकर) लगाएर होल खोप्न सुरु गरिसकेको छ । विस्फोटनको लागि जिल्ला सुरक्षा समितिको बैठक बसेर रक्षा मन्त्रालयको स्वीकृतिका लागि अनुरोध गरेको कालीकोटका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताए । ‘ठूलो ढुंगा विस्फोटन गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘आज नै नेपाली सेनाले विस्फोट गरेर सडक खुलाउँछौं ।’ ३ दिनदेखि सडक अवरुद्ध हुँदा नागरिकलाई सास्ती भएको छ ।
सुर्खेत र नेपालगञ्जबाट कालीकोट–जुम्ला आउजाउ गर्ने सवारी साधनहरु बीच बाटोमै रोकिएका छन् । जुम्लाबाट स्याउ बोकेका ट्रकहरु पनि बीच बाटोमै रोकिएका छन् । तीन दिनसम्म सडक नखुल्दा स्याउ कुहिने डरले व्यवसायीहरु त्रसित छन् ।
निर्माण भएको लामो समयसम्म पनि स्तरोन्नती नहुँदा कर्णाली राजमार्गको कालीकोटको एस मोड, ज्यानमारा भिर, गगनेखोला, सेरीघाट वारिपारि, मेयरखोला, माथिल्लो सुनारखोला, मान्म जिरो प्वाइन्ट, गल्लीभिर, बिहानीखोला, पिली, टाकुल्लाखोला, टिमेरे भिर, तल्लो खल्ला र माथिल्लो खल्ला पुल क्षेत्र, राँचुली लगायतका स्थानमा पहिरोले बर्षेनी सडक अबरुद्ध हुँदै आएको छ । बर्षेनी बढी सडक अबरुद्ध हुने स्थान टिमुरे भिर, माथिल्लो सुनारखोला, सेरीघाट बजार, ज्यानमारा भिर र एक पटक एस मोडमा सडक डिभिजन कार्यालय जुम्लालेले मर्मत गर्दै आएको छ ।

प्रकाशित मिति : २०८२ भदौ १६ गते सोमबार