२०८३ भदौ २९ , सोमबार
किसानको बारीमा कर्णालीका कृषि मन्त्री

बिज्ञ टोली लिए, रोगको पहिचान गरे



सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह किसानका गुनासा सुन्न बारीमा पुगेका छन् । किसानले फल्न थालेको मकै बारीमा किरा लागेको गुनासो गरी पछि उनी किसानको बारीमा पुगेको हो । कृषि मन्त्री शाहलाई दैलेखेको गुराँस गाउँपालिका–४ साल्तडाका किसानले फोन गरेर मकैमा रोग लागेको भनेर गुनासो गरेका थिए । किसानले फोन गरेको २४ नवित्द मन्त्री शाहले कृषि विज्ञसहितको किसानको बारीमा पुगेका हुन् ।
साल्तडामा मकैको बीउ उत्पादनका लागि ५ हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैमा रोग देखिएपछि किसान चिन्तित छन् । साल्तडाका किसान तेजबहादुर शाहीले ८ हेक्टर भन्दा बढी क्षेत्रफल रहेको साल्तडामा ५ हेक्टरमा मकै, आँप र केराको खेती गरिएको बताए । उनले ५ हेक्टर जग्गामा लगाइएको मकैमा रोग लागेर सखाप पारेको समेत बताए । उनले वार्षिक ८ टन भन्दा बढी मकैको बीउ उत्पादन गर्दै आएका थिए । यसपालि किरा लागेर ५० प्रतिशत बढी बाली नष्ट भएको उनले गुनासो गरे ।


मन्त्री शाहसँगै फिल्ड अनुगमनमा पुगेका एकीकृत कृषि प्रयोगशाला सुर्खेतका बाली विकास अधिकृत यामबहादुर रानाले उक्त मकैमा कम्प्लेक्स टाइपको रोग देखिएको बताए । रानाले उक्त मकैमा थेग्ले, घोगा कुइने र काण्ड कुइने रोग देखिनुका साथै खाद्य तत्वको पनि कमी भएको बताए । रोगको उपचार गर्नका लागि आवश्यक प्रयत्न गरिनुका साथै कृषकले खेती गर्दा अबका दिनमा बाली चक्र प्रणाली अपनाउनु पर्ने, रोग सहन सक्ने क्षमता भएका जातका बाली लगाउने, खेतबारीको सरसफाई गर्ने र पर्याप्त सिँचाइ व्यवस्था गरी खेती प्रणाली परिवर्तन गर्ने गरेमा रोगबाट बच्न सकिने सुझाव दिएका छन् ।

प्रकाशित मिति : २०८२ भदौ १५ गते आइतबार