२०८३ वैशाख ५ , शनिबार
कर्णालीमा विपद्को विपत्ति

१० वर्षमा ६१९ जनाको मृत्यु, साढे तीन अर्बको क्षति



पहिरोबाट १८० जना, भूकम्पबाट कारण १५४ जना, आगलागीबाट ६४ जना, त्यसैगरी चट्याङबाट ४६ जना, बाढीबाट ३९ जना, महामारीबाट ३४, लेक लागेर २५ जना, वन डढेलोमा परी १५ जना, डुबेर १४ जना र भारी वर्षाका कारण १३ जनाको मृत्यु भएकाे छ ।

सुर्खेत । कर्णाली प्रदेशमा विपद्का घटनामा परेर पछिल्लो दश वर्षमा ६१९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा जाजरकोटमा सबैभन्दा बढी अर्थात एक सय ८४ जना छन् । दुइ वर्षअघि गएको भूकम्पका कारण जाजरकोटमा विपद्बाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै देखिएको छ । २०७२ देखि २०८१ सम्मको दश वर्षको अवधिमा ६१९ जना व्यक्तिको विपद्का घटनामा परी मृत्यु भएको हो ।
जसमध्ये रुकुममा ९२ जना, कालीकोटमा ८४ जना, जुम्लामा ४७ जना, हुम्लामा ४६ जनाको विपद्मा घटनामा परी मृत्यु भएको कर्णाली प्रदेश सरकारले जनाएको छ । यसैगरी, सल्यानमा ३९ जना, दैलेखमा ३६ जना, डोल्पामा ३५ जना, सुर्खेतमा ३० जना र मुगुमा २६ जनाको मृत्यु भएको छ ।


जसमध्ये पनि पहिरोबाट १८० जना, भूकम्पबाट कारण १५४ जना, आगलागीबाट ६४ जना, त्यसैगरी चट्याङबाट ४६ जना, बाढीबाट ३९ जना, महामारीबाट ३४, लेक लागेर २५ जना, वन डढेलोमा परी १५ जना, डुबेर १४ जना र भारी वर्षाका कारण १३ जनाको मृत्यु भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् महाशाखाका सहजकर्ता उज्वल अधिकारीले जानकारी दिए । यही अवधिमा प्रदेशभर ६८ जना बेपत्ता भएका छन् भने एक हजार २६६ जना घाइते भएका छन् ।
विपद्बाट प्रदेशमा साढे तीन अर्बको क्षति भएको छ । सबैभन्दा धेरै क्षति भूकम्पबाट भएको हो । गत वर्ष जाजरकोटमा आएको भूकम्पले धेरै क्षति पु¥याएको तथ्याङ्कमा उल्लेख छ । भूकम्पबाट मात्रै दुई अर्ब ४७ करोडभन्दा धेरैको क्षति भएको हो । कर्णाली प्रदेशमा विशेषगरी भूकम्प, पहिरो, आगलागी, चट्याङ, बाढी र महामारीजस्ता प्रकोपको कारण अत्यधिक रूपमा क्षति भएको आँकडाले देखाउँछ । यसका साथै महामारी, लेक लाग्ने, नदी कटान, डुबान, भूक्षय, जनावर आक्रमण, रोगको प्रकोप, असिना, हुरीबतासजस्त प्रकोपका कारण ठूलो धनजनको क्षति हुने गरेको छ । विभिन्न वैज्ञानिक अध्ययनअनुसार कर्णाली प्रदेश भूकम्पको उच्च जोखिममा रहेको छ ।

प्रकाशित मिति : २०८२ भदौ १५ गते आइतबार