जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा भतिजाले कोदालो प्रहार गर्दा काकाको मृत्यु भएको छ। जुनिचाँदे गाउँपालिका–८ पोखरीका ३० वर्षीय बले थापाले कोदालो प्रहार गर्दा ४० वर्षीय भबिराम थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीका अनुसार मंगलबार साँझ करिब ७ः४० बजे जुनिचाँदे–८ पंकस्थित बाटोमा घटना भएको हो। बलेले आफ्नै जेठोबुबाका छोरा भबिराममाथि कोदालो प्रहार गरेका थिए। गम्भीर घाइते भएका भबिरामको उपचार हुन नपाउँदै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी राति करिब ९ः४० बजे प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक तिलक चन्दको कमान्डमा सात जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनामा प्रयोग भएको कोदालो नजिकैको बारीमा फेला पारेको जनाएको छ। घटनापछि बले थापा फरार रहेको र उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिनुभयो। घटनाको कारण खुल्न बाँकी रहेको तथा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्