२०८३ कात्तिक १८ , बुधबार
एनपीएल

आइपुगे डेभिड मिलर, कर्णाली याक्सकाे ब्याटिङ सुध्रिने अपेक्षा



सुर्खेत । दक्षिण अफ्रिकाका अनुभवी ब्याटर डेभिड मिलर नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन्। एनपीएलको तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्न लागेका ३७ वर्षीय मिलर बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

विमानस्थलमा उनलाई कर्णाली याक्स स्पोट्र्स प्रालिका प्रतिनिधिहरूले स्वागत गरेका थिए। अन्तर्राष्ट्रिय क्रिकेटमा लामो अनुभव र आक्रामक ब्याटिङका लागि परिचित मिलरको आगमनसँगै कर्णाली याक्सको ब्याटिङ थप बलियो हुने अपेक्षा गरिएको छ।

बायाँहाते ब्याटर मिलर दक्षिण अफ्रिकाका स्थापित क्रिकेटरमध्ये एक हुन्। उनले राष्ट्रिय टोलीसँगै विश्वका चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्। भारतको इन्डियन प्रिमियर लिग (आईपीएल), अस्ट्रेलियाको बिग बास लिग र पाकिस्तान प्रिमियर लिगमा समेत खेलिसकेका मिलरको फ्रेन्चाइज क्रिकेटमा लामो अनुभव छ।

आईपीएलमा उनले दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स इलेभेन पञ्जाब र गुजरात टाइटन्सबाट खेलेका थिए। सन् २०२२ मा गुजरात टाइटन्सले आईपीएल उपाधि जित्दा मिलरको प्रदर्शन महत्वपूर्ण रहेको थियो।

दक्षिण अफ्रिकाबाट १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका मिलरले २ हजार ८०४ रन बनाएका छन्। यस क्रममा उनले दुई शतक र नौ अर्धशतक प्रहार गरेका छन्। भारत र बंगलादेशविरुद्ध टी–२० अन्तर्राष्ट्रियमा शतक बनाउनु उनको करियरका उल्लेखनीय उपलब्धि हुन्।

कर्णाली याक्स स्पोट्र्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको सहभागिताले एनपीएलको आकर्षण बढाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८३ कात्तिक १८ गते बुधबार