सुर्खेत । कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा मुगुले विजयी सुरुवात गरेको छ। प्रतियोगिताको उद्घाटन खेलमै मुगुले दैलेखलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।
सुर्खेतस्थित प्रदेश रंगशालामा भएको खेलमा मुगुले पहिलो मिनेटदेखि नै आक्रामक प्रदर्शन गरेको थियो। दुवै टोलीबीच प्रतिस्पर्धात्मक खेल देखिए पनि अवसरहरूको सदुपयोग गर्दै मुगुले खेलमा महत्वपूर्ण जित हात पार्न सफल भयो। पराजित दैलेखले पनि खेलमा गोल फर्काउने केही राम्रा अवसर सिर्जना गरे पनि मुगुको बलियो रक्षापंक्तिलाई चिर्न सकेन।
यससँगै प्रदेश रंगशालामा जारी प्रतियोगिताका खेलहरू थप रोमाञ्चक बन्दै गएका छन्। आयोजकका अनुसार प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरू छनोट गरी आगामी प्रदेशस्तरीय तथा राष्ट्रिय प्रतियोगिताका लागि तयार पारिनेछ।

प्रतियोगितामा सुर्खेत, दैलेख, कालिकोट, जुम्ला,मुगु, हुम्ला, डोल्पा,रुकुमपश्चिम, जाजरकोट र सल्यानका टोलीले प्रतिस्पर्धा गर्ने छन् । उद्घाटन कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री तथा प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष जीतबहादुर मल्लले रेफ्री सुमन शाहीलाई बल हस्तान्तरण गरेर गरेका थिए । उद्घाटन कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाई, उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री एवं प्रदेश सरकारकी प्रवक्ता कल्याणी खड्का,भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मिलन खड्का (रोका), जलस्रोत तथा ऊर्जा विकास मन्त्री कलबहादुर हमाल,भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री जिम्कित लामा र सामाजिक विकास मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठलगायतको उपस्थिति थियो । उद्घाटन कार्यक्रममा मन्त्री मल्लले राष्ट्रिय प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित खेलाडी छनोट गर्नुपर्ने बताएका थिए । छनोट भएका खेलाडीले उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्नुपर्ने उनको भनाइ थियो । त्यस्तै, मन्त्री खड्काले दसौँ राष्ट्रिय खेलकुद कर्णालीका खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसर भएको बताउँदै छनोट प्रक्रियादेखि बन्द प्रशिक्षणसम्म खेलाडीको क्षमता,प्रदर्शन र तयारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्