सुर्खेत कर्णाली प्रदेशस्तरीय महिला फुटबल छनोट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ। रोमाञ्चक तथा प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा जुम्लालाई ४–० गोल अन्तरले पराजित गर्दै सुर्खेत च्याम्पियन बन्न सफल भएको हो।

प्रतियोगिताको सुरुवातमै आक्रामक खेल प्रस्तुत गरेको सुर्खेतले खेलको पहिलो हाफदेखि नै जुम्लालाई दबाबमा राखेको थियो। उत्कृष्ट पासिङ र टिमवर्कको मद्दतले सुर्खेतले खेलमा सहज जित हात पार्न सफल भयो। पराजित जुम्लाले पनि खेलमा केही राम्रा मुभहरू बनाए पनि विपक्षीको बलियो रक्षापंक्तिलाई तोड्न असफल रह्यो।

यसैबीच, प्रतियोगिताबाट आगामी राष्ट्रिय वा केन्द्रीय स्तरका प्रतियोगिताका लागि छनोट हुने सम्पूर्ण खेलाडीहरूलाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले एक विज्ञप्ति जारी गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। परिषद्ले छनोट भएका खेलाडीहरूले प्रदेशको नाम उच्च राख्ने र आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस्