२०८३ कात्तिक १२ , बिहीबार
प्रदेशस्तरिय छनाैट प्रतियाेगिता

छानिए उसकाे २३ खेलाडी, स्वर्णमा सुर्खेतको वर्चस्व



सुर्खेत । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने उसुका २३ खेलाडी छनोट भएका छन्। वीरेन्द्रनगरमा बिहीबारदेखि तीन दिनसम्म सञ्चालन भएको प्रदेशस्तरीय छनोट प्रतियोगिता शनिबार सम्पन्न भएसँगै राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गरिएको हो।

 

कर्णाली प्रदेश उसु संघका अनुसार छनोट भएका खेलाडीमध्ये १३ जना पुरुष र १० जना महिला छन्। विधागत रूपमा सान्दातर्फ १५ र थाउलुतर्फ ८ खेलाडी छनोट भएका छन्। छनोट भएका खेलाडीले आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णालीमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गर्नेछन्।

स्वर्ण पदकमा सुर्खेतको वर्चस्व

प्रदेशस्तरीय छनोट प्रतियोगितामा सुर्खेतले सबैभन्दा बढी १४ वटा स्वर्ण पदक जितेको छ। कर्णाली प्रदेश उसु संघका अध्यक्ष गोविन्दबहादुर शाहीका अनुसार प्रतियोगितामा सुर्खेतका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदकमा अग्रता कायम गरेका हुन्।

प्रतियोगितामा कालीकोटले तीन, जाजरकोटले दुई तथा दैलेख, डोल्पा, हुम्ला र जुम्लाले एक–एक स्वर्ण पदक जितेका छन्। छनोट प्रतियोगितामा सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, डोल्पा, हुम्ला र सल्यानका ६५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। खेलाडीको प्रदर्शनका आधारमा राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिएको उसु संघले जनाएको छ।

कात्तिक १० देखि बन्द प्रशिक्षण

राष्ट्रिय प्रतियोगितामा राम्रो नतिजा हासिल गर्ने लक्ष्यसहित छनोट भएका खेलाडीलाई कात्तिक १० गतेदेखि एक महिनासम्म बन्द प्रशिक्षणमा राखिने भएको छ। कर्णाली प्रदेश उसु संघका अध्यक्ष शाहीले छनोट भएका २३ खेलाडीले नै राष्ट्रिय प्रतियोगितामा कर्णालीको प्रतिनिधित्व गर्ने जानकारी दिए। अब खेलाडीको क्षमता अभिवृद्धि र प्रतिस्पर्धात्मक तयारीमा ध्यान केन्द्रित गरिने उनले बताए। ‘हामीले राष्ट्रिय खेलकुदका लागि २३ जना खेलाडी छनोट गरेका छौँ। अब उनीहरूलाई नियमित अभ्यास गराएर उसुमा राम्रो नतिजा ल्याउने प्रयास गर्नेछौँ,’ शाहीले भने।

पदक जित्ने लक्ष्यसहित अभ्यासमा जुट्न आग्रह

शनिबार छनोट प्रतियोगिताको समापन गर्दै कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन्द्र चन्दले छनोट भएका खेलाडीलाई राष्ट्रिय प्रतियोगिताको तयारीमा जुट्न आग्रह गरे। उनले दसैँ बिदामा समेत अभ्यासलाई निरन्तरता दिँदै पदक जित्ने लक्ष्यका साथ तयारी गर्न खेलाडीलाई सुझाव दिए।

खेलाडीको नियमित अभ्यास, मेहनत र लगावले राष्ट्रिय प्रतियोगितामा कर्णालीले उत्कृष्ट नतिजा हासिल गर्न सक्ने विश्वास उनले व्यक्त गरे।

समापन कार्यक्रममा सदस्यसचिव चन्दले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पदक र प्रमाणपत्र वितरण गरेका थिए। छनोट प्रतियोगिता सञ्चालनका लागि २० जना रेफ्री परिचालन गरिएको थियो।

कर्णालीमै आयोजना हुन लागेको दसौँ राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै उसुका खेलाडी छनोटसँगै अब बन्द प्रशिक्षणको तयारी अघि बढेको छ। प्रदेशले छनोट भएका खेलाडीलाई व्यवस्थित अभ्यास र प्रशिक्षणमार्फत राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि तयार पार्ने लक्ष्य राखेको छ।

प्रकाशित मिति : २०८३ असोज ३१ गते शनिबार