२०८३ कात्तिक १२ , बिहीबार
प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियाेगिता

 महिलामा सल्यान र पुरुषमा दैलेख च्याम्पिएन



सुर्खेत। दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशमा सञ्चालित महिला तथा पुरुष क्रिकेट छनोट प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको महिलातर्फ सुर्खेतलाई पराजित गर्दै सल्यान प्रथम बनेको छ भने पुरुषतर्फ सुर्खेतलाई हराउँदै दैलेखले पहिलो स्थान हासिल गरेको छ।

प्रदेशस्तरीय छनोट प्रतियोगितामा महिला क्रिकेटतर्फ सल्यानले सुर्खेतविरुद्ध जित निकाल्दै उपाधि जितेको हो। त्यस्तै, पुरुषतर्फको प्रतिस्पर्धामा दैलेखले सुर्खेतलाई पराजित गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ।

प्रतियोगिताबाट छनोट हुने खेलाडीले आगामी दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्नेछन्। प्रदेशस्तरीय छनोटले राष्ट्रिय प्रतियोगिताका लागि महिला तथा पुरुष क्रिकेट टोली तयार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

छनोट प्रतियोगिताको समापन कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमाल प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा परिषद्का सदस्यसचिव रविन्द्र चन्द, बोर्ड सदस्य भीमकुमारी भुसाललगायतको उपस्थिति रहेको थियो।

कर्णालीमा आयोजना हुन लागेको दसौँ राष्ट्रिय खेलकुदलाई लक्षित गरी सञ्चालन गरिएका छनोट प्रतियोगितामार्फत प्रदेशका प्रतिभावान खेलाडी पहिचान गर्ने र राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम टोली निर्माण गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित मिति : २०८३ असोज ३१ गते शनिबार