सुर्खेत। आगामी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्न कर्णाली प्रदेशस्तरीय उसु प्रतियोगिता सुरु भएको छ। बिहीबार वीरेन्द्रनगरमा उद्घाटन गरिएको प्रतियोगितामा प्रदेशका आठ जिल्लाका ६५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

प्रतिस्पर्धा गर्दै खेलाडी
कर्णाली प्रदेश उसु संघका अनुसार प्रतियोगितामा सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, डोल्पा, हुम्ला र सल्यानका खेलाडी सहभागी छन्। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता असोज ३१ गतेसम्म चल्ने संघका प्रदेश अध्यक्ष गोविन्दबहादुर शाहीले जानकारी दिए।

प्रतियाेगिताकाे उद्घाटन गर्दै कर्णाली खेलकुद विकास समितिका सदस्य सचिव रविन्द चन्द ।
प्रतियोगिताबाट आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि २३ खेलाडी छनोट गरिनेछ। छनोट हुनेमध्ये सान्दातर्फ १५ र थाउलुतर्फ आठ खेलाडी रहने अध्यक्ष शाहीले बताए।
‘यो प्रतियोगिताबाट हामी जम्मा २३ जना खेलाडी छनोट गर्नेछौँ। उनीहरूले नै राष्ट्रिय खेलकुदमा कर्णालीको प्रतिनिधित्व गर्नेछन्,’ उनले भने।
छनोट भएका खेलाडीलाई आगामी कात्तिक १० गतेदेखि बन्द प्रशिक्षणमा राख्ने तयारी गरिएको छ। बन्द प्रशिक्षणमार्फत खेलाडीको क्षमता अभिवृद्धि गरी राष्ट्रिय प्रतियोगिताका लागि तयार पारिने संघले जनाएको छ।

प्रतियाेगितामा सहभागी खेलाडी, अथिति र निर्णायकहरू
प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन्द्र चन्दले गरेका हुन्। उनले छनोट प्रतियोगिताबाट योग्य खेलाडी छनोट हुने र राष्ट्रिय खेलकुदमा कर्णालीले राम्रो नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे।

प्रतियाेगितामा सहभागी खेल टिमलाइ खेल सामग्री हस्तान्तरण गर्दै प्रमुख अतिथि रविन्द चन्द र छनाैट प्रतियाेगिताका लागि सुर्खेत जिल्ला संयाेजक भीमकुमार भुषाल लगायत
प्रतियोगिता सञ्चालनका लागि २० जना रेफ्री परिचालन गरिएको उसु संघले जनाएको छ। उद्घाटन कार्यक्रममा छनोट प्रतियोगिताका सुर्खेत जिल्ला संयोजक भीमकुमारी भुसाल, खेल प्रशिक्षक, रेफ्रीलगायतको उपस्थिति थियो।
आठ जिल्लाका खेलाडीबीच हुने यस छनोट प्रतियोगिताले राष्ट्रिय खेलकुदमा कर्णालीको प्रतिनिधित्व गर्ने खेलाडी पहिचान गर्नुका साथै उनीहरूको प्रतिस्पर्धात्मक क्षमता परीक्षण गर्ने अवसर प्रदान गर्नेछ।
प्रतिक्रिया दिनुहोस्