२०८३ कात्तिक १२ , बिहीबार
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता

सल्यानमा टेबलटेनिस छनोट सुरु



सल्यान। आगामी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्न कर्णाली प्रदेशस्तरीय टेबलटेनिस छनोट प्रतियोगिता सल्यानमा सुरु भएको छ। प्रतियोगितामा प्रदेशका सात जिल्लाका खेलाडी सहभागी भएका छन्।

प्रतियोगितामा जाजरकोट, हुम्ला, सल्यान, सुर्खेत, दैलेख, कालीकोट र रुकुम पश्चिमका खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेका छन्। यस प्रतियोगिताबाट छनोट हुने खेलाडीले आगामी मंसिरमा सुर्खेतमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्नेछन्।

प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेशसभा सदस्य सुरेश अधिकारीले प्रदेशमा खेलकुदको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले खेलकुद क्षेत्रको विकासका लागि पर्याप्त खेलमैदान, भौतिक पूर्वाधार, आवश्यक खेल सामग्री, नियमित प्रशिक्षण र दक्ष प्रशिक्षकको व्यवस्था गर्न नीतिगत पहल गर्ने बताए।

खेलकुदलाई प्रदेशको नीति तथा बजेटमा प्राथमिकता दिनुपर्नेमा जोड दिँदै अधिकारीले प्रतिभावान् खेलाडीको पहिचान, प्रोत्साहन र क्षमता विकासका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्ने धारणा राखे। उनका अनुसार ग्रामीण तथा दुर्गम क्षेत्रका खेलाडीलाई समेत नियमित प्रशिक्षण, खेल सामग्री र प्रतियोगितामा सहभागी हुने अवसर उपलब्ध गराउन सके कर्णालीबाट राष्ट्रियस्तरका प्रतिभावान् खेलाडी उत्पादन गर्न सकिन्छ।

प्रदेशस्तरीय छनोट प्रतियोगिताले राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी पहिचान गर्नुका साथै कर्णालीमा टेबलटेनिस खेलको विकास र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ असोज २७ गते मंगलबार