मुगु । मुगुको खत्याड गाउँपालिका–११ स्थित बिरा खोलामा सडक निर्माणका क्रममा सुक्खा पहिरो खस्दा एक्स्काभेटरसहित चालक पुरिएका छन्। सोमबार बिहान भएको घटनामा एक्स्काभेटरका सहचालक घाइते भएका छन् भने पुरिएका चालकको उद्धारका लागि प्रहरी परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार मुगु–रारा भित्री सडकखण्डअन्तर्गत बेलिब्रिज जोड्ने सडक काट्ने क्रममा माथिबाट एक्कासि पहिरो खसेको हो। पहिरोले बा ३ क ३२७६ नम्बरको एक्स्काभेटरसहित चालकलाई पुरेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी रविराज थपलियाले जानकारी दिए।
पहिरोमा पुरिने चालक बझाङका २४ वर्षीय विमल बाग हुन्। उनलाई उद्धार गर्न प्रहरी टोली घटनास्थलमा खटिएको छ। पहिरो पन्छाएर चालकलाई बाहिर निकाल्ने प्रयास भइरहेको डीएसपी थपलियाले बताए।
घटनामा एक्स्काभेटरका सहचालक मुगुको सोरु गाउँपालिका–१ निवासी २२ वर्षीय विनय मल्ल घाइते भएका छन्। माथिबाट खसेका ढुंगाले उनको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। मल्ल बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ।
चालकको उद्धार तथा घटनास्थलमा आवश्यक सुरक्षा व्यवस्थाका लागि इलाका प्रहरी कार्यालय रातापानी र प्रहरी चौकी माझचौरबाट १३ जना प्रहरी परिचालन गरिएको छ।
सडक निर्माणका क्रममा भएको यस घटनामा पहिरोमा पुरिएका चालकको अवस्था उद्धारपछि मात्रै स्पष्ट हुनेछ।
प्रतिक्रिया दिनुहोस्