२०८३ कात्तिक १३ , शुक्रबार
एयपोर्ट चौक दुर्घटना

श्रीमानको मृत्यु, श्रीमति घाइते



सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा गएराति बुलेट मोटरसाइकलले पैदलयात्री दम्पतीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटनामा दैलेखको भैरवी गाउँपालिका घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा बस्दै आएका २७ वर्षीय विवेक थापाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार, घुस्राबाट तीनकुने चोकतर्फ जाँदै गरेको लु ७२ प २००९ नम्बरको बुलेट मोटरसाइकलले गएराति थापा दम्पतीलाई ठक्कर दिएको थियो। दुर्घटनामा विवेककी २९ वर्षीया श्रीमती सुनिता थापा र मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–१० का २२ वर्षीय दिपेश चौधरी घाइते भएका छन्।

प्रहरीका अनुसार दुर्घटनामा विवेकको टाउकोमा गम्भीर चोट लागेको थियो। उनकी श्रीमती सुनिताको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ भने मोटरसाइकल चालक चौधरी पनि घाइते भएका छन्। दुर्घटनालगत्तै तीनै जनालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ पुर्‍याइएको थियो। विवेकको अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि राति नै नेपालगन्ज रिफर गरिएको थियो। तर, उपचारका लागि लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरी प्रवक्ता बोहोराले जानकारी दिए। मृतक थापाको शव अहिले अस्पतालको शवगृहमा राखिएको छ। दुर्घटनामा घाइते भएका सुनिता र मोटरसाइकल चालक चौधरीलाई थप उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ। दुर्घटना कसरी हुन पुग्यो भन्ने विषयमा थप विवरण भने खुल्न बाँकी छ।

प्रकाशित मिति : २०८३ असोज २५ गते आइतबार