२०८३ कात्तिक १२ , बिहीबार

सुर्खेतका एकै दिन १८ थान भरुवा बन्दुक बरामद



सुर्खेत। सुर्खेतका विभिन्न जंगलमा लुकाइछिपाइ राखिएका १८ थान भरुवा बन्दुक प्रहरीले एकै दिन बरामद गरेको छ। शुक्रबार पश्चिम सुर्खेतका चौकुने गाउँपालिका र बराहताल गाउँपालिकाका तीनवटा जंगलमा खोजतलास गर्ने क्रममा प्रहरीले ती बन्दुक फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहोराका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमाण्डमा खटिएको टोलीले चौकुने गाउँपालिकाका दुई स्थानबाट १७ थान भरुवा बन्दुक बरामद गरेको हो।

प्रहरीले चौकुने गाउँपालिका–७ स्थित सान्नेघारीको जंगलमा लुकाइराखिएका पाँच थान बन्दुक फेला पारेको थियो। त्यस्तै, चौकुने गाउँपालिका–१ को धामिसेनस्थित जंगलमा लुकाइछिपाइ राखिएका थप १२ थान बन्दुक बरामद गरिएको प्रवक्ता बोहोराले जानकारी दिए।

यसैगरी, प्रहरी चौकी रानिघाटबाट खटिएको टोलीले बराहताल गाउँपालिका–१ स्थित ज्यामिरे जंगलबाट एक थान भरुवा बन्दुक फेला पारेको थियो। तीनवटा जंगलबाट बरामद भएका बन्दुकको कुल संख्या १८ पुगेको प्रहरीले जनाएको छ।

जंगलमा बन्दुक कसले, के प्रयोजनका लागि र कुन अवस्थामा लुकाएर राखेको थियो भन्ने विषय भने खुल्न बाँकी छ। बरामद गरिएका बन्दुकबारे थप अनुसन्धान भइरहेको प्रवक्ता बोहोराले बताएका छन्।

प्रकाशित मिति : २०८३ असोज २५ गते आइतबार