सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. भीमबहादुर खत्रीलाई नियुक्त गरेको छ। शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारकी प्रवक्ता कल्याणी खड्काले जानकारी दिइन्।

जुम्लाको तातोपानी गाउँपालिका–४ निवासी खत्रीले यसअघि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वरिष्ठ कृषि विज्ञका रूपमा काम गरिसकेका छन्। कृषि अनुसन्धानको क्षेत्रमा अनुभव हासिल गरेका खत्रीलाई प्रदेशको योजना निर्माण र विकासका प्राथमिकता निर्धारण गर्ने जिम्मेवारीसहित आयोगको उपाध्यक्षमा नियुक्त गरिएको हो।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले अन्य दुई महत्त्वपूर्ण निर्णयसमेत गरेको छ। बैठकले हुम्लाको नाम्खा गाउँपालिकाले चीनको बुवाङ काउन्ट्रिसँग भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारसमक्ष पूर्वस्वीकृतिका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
त्यस्तै, बैठकले कर्णाली प्रदेश राइड सेयरिङ तथा सेल्फ ड्राइभ (नियमन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गरेको छ। यस नियमावलीले प्रदेशभित्र राइड सेयरिङ तथा आफैँले सवारी चलाउने सेवा सञ्चालनको नियमन र व्यवस्थापनका लागि आधार तयार गर्ने अपेक्षा गरिएको छ।
प्रदेश सरकारको पछिल्लो मन्त्रिपरिषद् बैठकले योजना आयोगको नेतृत्व चयनसँगै अन्तरपालिका अन्तरदेशीय सम्बन्ध विस्तार र सवारी सेवाको नियमनसम्बन्धी निर्णय अघि बढाएको छ।
प्रतिक्रिया दिनुहोस्