सुर्खेत । कर्णाली प्रदेशले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आगामी सोमबारदेखि प्रदेशस्तरीय खेलाडी छनोट गर्ने भएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले शुक्रबार सूचना जारी गर्दै असोज २६ देखि ३१ गतेसम्म प्रदेशका विभिन्न जिल्लामा १७ खेलको छनोट प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो।
परिषद्ले छनोट हुने खेल, सम्बन्धित जिल्ला र मिति टुंगो लगाएको छ। जसअनुसार सुर्खेतमा ब्याडमिन्टन, फुटबल, बक्सिङ, एथलेटिक्स, क्रिकेट, आईटीएफ तेक्वान्दो र उसुका खेलाडी छनोट गरिनेछ।
त्यस्तै दैलेखमा कराँते, ह्यान्डबल र फुल कन्ट्याक्ट कराँते, जाजरकोटमा खोखो, रुकुमपश्चिममा कबड्डी, सल्यानमा टेबलटेनिस, कालिकोटमा पुरुष भलिबल, जुम्लामा तेक्वान्दो तथा हुम्लामा महिला भलिबल र हक्कीको छनोट प्रतियोगिता सञ्चालन हुनेछ।

यी खेलका प्रदेशस्तरीय छनोट प्रतियोगिता असोज २६ देखि ३१ गतेसम्म सञ्चालन हुने कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन्द्र चन्दले जानकारी दिए। दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश अन्य १५ खेलको प्रदेशस्तरीय छनोट भने अझै टुंगो लाग्न बाँकी छ। टेनिस, सुटिङ, जिम्न्यास्टिक, एक्वाटिक्स, बास्केटबल, पौडी, रग्बी, कुस्ती, जुडो, सेपाकताक्रो, साइक्लिङ, भारोत्तोलन, ई–स्पोर्ट, आर्चरी र शारीरिक सुगठनको छनोट कहाँ र कहिले गर्ने भन्ने निर्णय भइसकेको छैन।
कर्णालीमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुदका लागि प्रदेशभित्रका खेलाडी छनोट गरी राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने तयारीअनुसार परिषद्ले पहिलो चरणमा १७ खेलको छनोट कार्यक्रम सार्वजनिक गरेको हो। बाँकी खेलको छनोट मिति र स्थान पनि क्रमशः निर्धारण गरिने परिषद्ले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्