सुर्खेत । कर्णालीमा आगामी मंसिरमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई पदकसँगै नगद पुरस्कार प्रदान गरिने भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहेताका अनुसार प्रतियोगिताका व्यक्तिगत तथा समूहगत इभेन्टमा स्वर्ण, रजत र कांस्य पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने निर्णय गरिएको हो। खेलाडीलाई थप प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कारको व्यवस्था गरिएको उनले बताए।
परिषद्का अनुसार व्यक्तिगत इभेन्टमा स्वर्ण पदक जित्ने खेलाडीले २० हजार रुपैयाँ, रजत पदक विजेताले १५ हजार रुपैयाँ र कांस्य पदक विजेताले ८ हजार रुपैयाँ पाउनेछन्। त्यस्तै, समूहगत इभेन्टतर्फ स्वर्ण पदक विजेतालाई १५ हजार रुपैयाँ, रजत पदक विजेतालाई १० हजार रुपैयाँ र कांस्य पदक विजेतालाई ५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ।

सदस्यसचिव मेहेताका अनुसार प्रतियोगितामा समावेश ३२ वटै खेल विधामा पदक जित्ने खेलाडीले सम्बन्धित पदकसँगै तोकिएको नगद पुरस्कार प्राप्त गर्नेछन्। उनका अनुसार राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान र प्रोत्साहन गर्न पुरस्कारको व्यवस्था गरिएको हो।
दसौँ राष्ट्रिय खेलकुदको तयारीका क्रममा बसेको मूल समारोह तथा आयोजक समितिको बैठकमा खेलाडीलाई नगद पुरस्कार दिने विषयमा समेत छलफल भएको थियो। बैठकमा प्रतियोगिताको समग्र तयारी, खेलस्थल व्यवस्थापन, खेलाडीको आवास, यातायात तथा अन्य व्यवस्थापनका विषयमा पनि समीक्षा गरिएको थियो।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २७ गतेसम्म कर्णालीमा सञ्चालन हुँदैछ। प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएन) गरी ११ टोली सहभागी हुनेछन्।
प्रतियोगितामा विभिन्न ३२ खेल विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको मुख्य खेलस्थलका रूपमा वीरेन्द्रनगरस्थित प्रदेश रंगशाला प्रयोग गर्ने तयारी गरिएको छ। कर्णालीका अन्य जिल्लामा पनि सम्बन्धित खेल विधाका पूर्वाधार र व्यवस्थापनअनुसार प्रतियोगिता सञ्चालन गर्ने योजना आयोजकको छ।
कर्णालीमा पहिलोपटक आयोजना हुन लागेको दसौँ राष्ट्रिय खेलकुदलाई भव्य र व्यवस्थित बनाउन आयोजकले खेलस्थलदेखि खेलाडीको आवास र अन्य व्यवस्थापनलाई प्राथमिकतामा राखेर तयारी अघि बढाइरहेको छ।
प्रतिक्रिया दिनुहोस्