सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले राजनीतिक व्यवस्था परिर्वतनसँगै मुलुकमा भएका उपलब्धि र पूर्वाधार विकासलाई ओझेल पार्ने गरी चलाइएका भ्रामक भाष्यबाट सचेत रहन नवयुवाहरूलाई आग्रह गरेका छन्। दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ द्वारा बुधबार चुप्रामा आयोजित सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले विगतमा केही काम नै भएन भन्ने नियोजित प्रचारको भ्रममा नपर्न युवा पुस्तालाई आह्वान गरे। लोकतान्त्रिक गणतन्त्र र सङ्घीयताकै कारण विगतका तुलनामा नेपाली जनता अधिकारसम्पन्न बनेको र विकट बस्तीहरूसम्म विकासको लहर पुगेको उनको भनाइ थियो।

कर्णाली जस्तो भौगोलिक रूपमा जटिल र विकट प्रदेश सङ्घीय व्यवस्थाकै कारण विकासको मुख्य प्रवाहमा जोडिन सफल भएको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले सङ्घीयताले गाउँगाउँका स्थानीय तहलाई अधिकारसम्पन्न र स्वायत्त बनाएको बताए। मुलुकमा राजनीतिक परिवर्तन नभएको भए सीमान्तकृत समुदाय र महिला राष्ट्रको सर्वोच्च पदसम्म पुग्ने वातावरण नबन्ने दाबी गर्दै उनले पछिल्लो एक दशकमा स्थानीय तहहरूमार्फत व्यापक परिवर्तन भएको स्पष्ट पारे। आफू प्रदेशको भौतिक पूर्वाधार मन्त्री हुँदा नै प्रादेशिक राजधानीबाट पालिका केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने योजना अघि सारेको स्मरण गराउँदै उनले सङ्घीयताकै कारण आज गाउँगाउँमा सडक कालोपत्रे सम्भव भएको उल्लेख गरे।
अहिले प्राप्त विकास, अधिकार र उपलब्धिहरू कुनै जादुमयी ढङ्गले नभई जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएको बताउँदै मुख्यमन्त्री शाहीले जादुमय तरिकाले एकाएक विकास र सुशासन आउँछ भन्ने भ्रम फैलाउन खोजिएकाले त्यसप्रति युवाहरू सचेत हुनुपर्नेमा जोड दिए। उत्पादन र रोजगार सिर्जनाका क्षेत्रमा अपेक्षाअनुसार काम हुन नसक्दा ठूलो सङ्ख्यामा युवाहरू वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेको स्वीकार गर्दै उनले कर्णालीको समृद्धिका लागि सुस्त गतिमा हिँडेर मात्र नपुग्ने र द्रुत गतिमा अघि बढ्न आवश्यक रहेको धारणा राखे। गाउँपालिका अध्यक्ष सुन्दरकुमार केसी, वडाध्यक्ष श्याम रानालगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा मुख्यमन्त्री शाहीले डुङ्गेश्वर गाउँपालिकाको समग्र विकास र हितका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस्