२०८३ कात्तिक १३ , शुक्रबार
चाडपर्व लक्षित विशेष सुरक्षा योजना

कर्णालीका १० वटै जिल्लामा ५ हजारभन्दा बढी प्रहरी परिचालन



सुर्खेत । नजिकिँदै गरेका दसैँ, तिहार तथा छठ पर्वलाई सुरक्षित, शान्तिपूर्ण र मर्यादित बनाउन कर्णाली प्रदेश प्रहरीले विशेष सुरक्षा योजना लागू गर्दै सुरक्षा व्यवस्था कडा पारेको छ। चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि, चोरी, लुटपाट, सवारी दुर्घटना, यात्रु ठगी तथा सार्वजनिक स्थलमा हुने अवाञ्छित घटना नियन्त्रणका लागि प्रदेशका १० वटै जिल्लामा ५ हजार ३ सय १४ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार १ हजार ४ सय ६२ वटा निश्चित ड्युटी पोइन्ट निर्धारण गरी जनशक्ति खटाइएको छ भने आवश्यकताअनुसार तत्काल परिचालन गर्न सकिने गरी थप प्रहरी टोलीलाई रिजर्भमा राखिएको छ।

सुरक्षा योजनाअनुसार सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा मोबाइल, मोटरसाइकल, पैदल र क्विक रेस्पोन्स टिम (क्यूआरटी) मार्फत निरन्तर गस्ती सञ्चालन गरिने प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोषसिंह राठौरले जानकारी दिए। जसअन्तर्गत २८ वटा मोबाइल गस्ती, ९८ वटा मोटरसाइकल गस्ती, ६० वटा क्यूआरटी, १४८ वटा पैदल गस्ती तथा २०४ वटा लामो र छोटो दूरीका गस्ती टोली परिचालन हुनेछन्। यस्तै १ सय ७६ स्थानमा प्रहरी पिकेट स्थापना गरिएको छ भने सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणका लागि ६७ स्थानमा आकस्मिक चेकिङ र ४७ स्थानमा ट्राफिक प्रहरीसहितको संयुक्त जाँचको व्यवस्था मिलाइएको छ। सार्वजनिक यातायातमा बढी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु तथा सामान राख्ने र यात्रुमाथि दुर्व्यवहार गर्ने कार्यमाथि प्रहरीले सूक्ष्म निगरानी बढाएको छ।

चाडपर्वका बेला चाप बढ्ने बजार क्षेत्र, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र आर्थिक कारोबार हुने स्थानको सुरक्षाका लागि ३१ स्थानमा विशेष प्रहरी टोली खटाइएको छ। साथै, ३८ वटा महत्त्वपूर्ण सरकारी प्रतिष्ठान, धार्मिक तथा पर्यटकीय स्थलहरूमा छुट्टै प्रहरी तैनाथ रहनेछन्। यात्राका क्रममा नागरिक तथा यात्रुलाई पर्न सक्ने समस्या सहजीकरणका लागि प्रदेशका ३७ स्थानमा यात्रु तथा नागरिक सहायता केन्द्र सञ्चालनमा ल्याइएको छ। प्रहरीले जुवातास, लङ्गुरबुर्जा, कौडा, अनलाइन सट्टेबाजीका साथै अवैध मदिरा, लागूपदार्थ, तस्करी, अवैध हतियार र पटकाजस्ता विस्फोटक पदार्थको ओसारपसार एवं प्रयोगमा पूर्ण रोक लगाउन कडा कदम चालेको छ। बजारमा खाद्यान्नको कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न स्थानीय प्रशासन र सरोकारवाला निकायहरूसँग समन्वय गरी संयुक्त अनुगमनसमेत गरिने प्रदेश प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज २१ गते बुधबार