२०८३ कात्तिक १२ , बिहीबार
सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण

कर्णालीका ८१ स्थानबाट सहुलियत खाद्यान्न बिक्री



सुर्खेत । चाडपर्वलाई लक्षित गरी सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णाली प्रदेशमा सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलहरूमा उपभोक्ताको आकर्षण बढ्दो क्रममा रहेको छ। दैनिक उपभोग्य वस्तुहरूमा विशेष मूल्य छुट दिइएका कारण सहुलियत पसलहरूमा सर्वसाधारणको उपस्थिति बाक्लिएको हो। कम्पनीले गत साउन २८ गतेदेखि नै कर्णाली प्रदेशका नौ वटा जिल्लाका कुल ८१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरी दैनिक उपभोग्य सामाग्री बिक्री वितरण गर्दै आएको छ।

चाडपर्वका बेला बजारमा हुन सक्ने अस्वाभाविक मूल्यवृद्धिलाई नियन्त्रण गर्दै उपभोक्तालाई राहत दिने उद्देश्यले सञ्चालित यी पसलहरूबाट सर्वसाधारणले प्रति किलो तथा प्रति लिटर खाद्यान्नमा पाँच रुपैयाँदेखि १० रुपैयाँसम्म छुट पाइरहेका छन्। सुर्खेतस्थित प्रादेशिक कार्यालयका अनुसार सुपथ मूल्य पसलमा चार प्रकारका चामलसहित चिनी, खानेतेल, दाल र कर्णालीको रैथाने सिमी उपलब्ध गराइएको छ। कर्णालीका १० मध्ये सल्यान बाहेक सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम, डोल्पा, कालिकोट, मुगु, जुम्ला र हुम्लामा कम्पनीले प्रत्यक्ष सेवा दिइरहेको छ भने सल्यानमा छिमेकी जिल्ला दाङस्थित कार्यालयमार्फत सहुलियत खाद्यान्न प्रवाह भइरहेको छ।

कम्पनीका प्रादेशिक कार्यालय प्रमुख केशवराज बुढाका अनुसार बजार मूल्यको तुलनामा सहुलियत पसलमा खाद्यान्नको दररेट कम भएकाले दैनिक रूपमा सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले प्रति किलो एक सय रुपैयाँमा चिनी बिक्री गरिरहेको सन्दर्भमा खाद्य व्यवस्था कम्पनीबाट पनि सोही मूल्यमा बिक्री वितरण गर्न केन्द्रमा स्वीकृतिका लागि पत्र पठाइसकिएकाले छिट्टै मूल्य समायोजन हुने उहाँले जानकारी दिएका छन्। यसपटकको चाडपर्व अवधिमा कम्पनीले कर्णाली प्रदेशभर २८ हजार क्विन्टल छुट प्राप्त खाद्यान्न बिक्री गरी कुल एक करोड ४० लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखेको छ।

प्रकाशित मिति : २०८३ असोज १३ गते मंगलबार