जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिका–५ पाँगाका ७५ वर्षीय गङ्गाराम शाहीको हत्या आरोपमा उनकै माइली बुहारी पक्राउ परेकी छन्। वृद्ध ससुराको हत्यामा घरकै सदस्यको संलग्नता रहेको अनुसन्धानबाट खुलेपछि प्रहरीले बुहारी शर्मिला शाहीलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाएको हो।
प्रहरीका अनुसार २०८२ साउन ११ गते साँझ घरको सिँढी नजिकै गङ्गारामको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको हँसिया (खुर्पा) समेत बरामद गरेको थियो। घटनापछि अनुसन्धानलाई तीव्र बनाएको प्रहरीले मृतकका जेठा छोरा राजकुमार शाहीले दिएको किटानी जाहेरीका आधारमा माइली बुहारी शर्मिलालाई पक्राउ गरेको हो।

पक्राउ परेकी शर्मिलामाथि कर्तव्य ज्यान मुद्दामा जाजरकोट जिल्ला अदालतबाट पहिलोपटक १० दिनको म्याद थप गरी सूक्ष्म अनुसन्धान भइरहेको जाजरकोट प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी दिए। घटनाको कारण र हत्यामा अन्य कसैको संलग्नता रहे/नरहेको विषयमा प्रहरीले गहन अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्