२०८३ कात्तिक १३ , शुक्रबार
दसौँ राष्ट्रिय खेलकुद

खेलअनुसार खेलाडीको उमेर हद निर्धारण



सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको ‘दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३’ मा सहभागी हुने खेलाडीहरूका लागि खेलको प्रकृति र विधाअनुसार उमेरको मापदण्ड निर्धारण गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रतियोगितामा समावेश गरिएका विभिन्न खेलहरूमध्ये केहीमा न्यूनतम र अधिकतम उमेरको सीमा तोकेको छ भने कतिपय विधामा उमेरको कुनै बन्देज नराख्ने व्यवस्था गरेको छ। चौथो पटक मिति संशोधन भई आगामी मङ्सीर १६ देखि २९ गतेसम्म सञ्चालन हुने तय भएको यस प्रतियोगितालाई व्यवस्थित बनाउन राखेपले उमेर समूहसम्बन्धी प्राविधिक खाका तयार पारेको हो।

परिषद्का अनुसार आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बुद्धिचाल, फुटबल, फुलकन्ट्याक्ट कराते, जिम्न्यास्टिक, कबड्डी, खोखो, सुटिङ, स्क्वास, टेबल टेनिस, सेपाकताक्रो र भलिबलमा सहभागी हुन उमेर समूह आवश्यक नपर्ने व्यवस्था गरिएको छ। यसैगरी उसुको थाउलोतर्फ पनि जुनसुकै उमेरका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् भने साइक्लिङको हकमा उपलब्ध विवरणमा उमेर समूह तोकिएको छैन।

अन्य खेलहरूमा भने शारीरिक परिपक्वता र सुरक्षालाई ध्यानमा राख्दै न्यूनतम उमेर हद अनिवार्य गरिएको छ। एथलेटिक्सअन्तर्गत म्याराथन, रग्बी ७ ए साइड र कुस्तीमा सहभागी हुन खेलाडीको उमेर कम्तीमा १८ वर्ष पूरा भएको हुनुपर्नेछ। यस्तै, ह्यान्डबल र ई-स्पोर्ट्समा १६ वर्ष, क्रिकेट, जुडो र भारोत्तोलनमा १५ वर्ष तथा शारीरिक सुगठन र टेनिसका लागि कम्तीमा १४ वर्ष उमेर तोकिएको छ। हक्कीमा महिलाका लागि १२ वर्ष र पुरुषका लागि १४ वर्ष न्यूनतम उमेर हुनुपर्नेछ भने पौडीमा पनि कम्तीमा १२ वर्ष कटेको हुनुपर्ने र टाइम स्लटको व्यवस्था लागू हुनेछ।

केही विशिष्ट एवं बढी जोखिमयुक्त खेलहरूमा भने न्यूनतमका साथै अधिकतम उमेरको सीमासमेत तोकिएको छ। बक्सिङ र उसुको सान्सौ विधामा सहभागी हुने खेलाडी कम्तीमा १९ वर्ष पूरा भई ४० वर्ष नकटेको हुनुपर्नेछ। करातेमा कुमितेतर्फ कम्तीमा १८ वर्ष र कातातर्फ १६ वर्ष तोकिएको छ भने तेक्वान्दोको पुम्से विधामा १७ देखि ३० वर्षबिचका खेलाडीले मात्र भाग लिन पाउनेछन्। तेक्वान्दोकै गेरोगीतर्फ न्यूनतम १७ वर्ष तोकिए पनि अधिकतम उमेरको सीमा राखिएको छैन भने आइटीएफ तेक्वान्दोका लागि न्यूनतम उमेर १२ वर्ष तोकिएको छ।

प्रकाशित मिति : २०८३ असोज १३ गते मंगलबार