सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–४ स्थित बजेडीचौर सामुदायिक वनमा बेवारिसे अवस्थामा राखिएका तीन नाल घरेलु भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बादेपीपलबाट खटिएको प्रहरी नायब निरीक्षक चेतनबहादुर बुढा नेतृत्वको टोलीले सामुदायिक वनको सालघारीभित्र बनमाराको झारमुनि लुकाएर राखिएको अवस्थामा ती हतियार फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहोराका अनुसार कालो छाताको कपडाले बेरेर राखिएको अवस्थामा दुई नाल साबुत र एक नाल बेसाबुत गरी जम्मा तीन नाल भरुवा बन्दुक भेटिएका हुन्। बेवारिसे हतियार रहेको गुप्त सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीले ती हतियार नियन्त्रणमा लिएको हो। बरामद गरिएका बन्दुकहरू कसले, कुन मनसायले र कुन प्रयोजनका लागि जङ्गलमा लुकाएर राखेका हुन् भन्ने विषयमा सूक्ष्म अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्