२०८३ असोज ९ , शुक्रबार
सम्भावित विपद् लक्षित पूर्वतयारी

मुख्यमन्त्रीद्वारा प्रदेश अस्पतालको आकस्मिक कक्ष अनुगमन



सुर्खेत । अविरल भारी वर्षाका कारण हुन सक्ने सम्भावित बाढी, पहिरो तथा प्राकृतिक विपद् र नागरिक सुरक्षालाई मध्यनजर गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेश अस्पताल सुर्खेतको आकस्मिक (इमर्जेन्सी) वार्डको स्थलगत अनुगमन गरेका छन्। सामाजिक विकास मन्त्री जितबहादुर मल्लसहित कालागाउँस्थित प्रदेश अस्पताल पुगेका मुख्यमन्त्री शाहीले विपद्को समयमा घाइते तथा बिरामीहरूको उद्धार र तत्काल उपचार व्यवस्थापनबारे अस्पताल प्रशासनसँग जानकारी लिएका हुन्।

अनुगमनका क्रममा मुख्यमन्त्री शाहीले सम्भावित प्रकोपका बेला अपनाइने उपचार प्रक्रिया, जनशक्ति परिचालन र पूर्वतयारीबारे अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. गणेश थापासँग चासो व्यक्त गरेका थिए। जवाफमा मेसु डा. थापाले जाजरकोट भूकम्प लगायत विगतका ठूला दुर्घटना र विपद् व्यवस्थापनमा हासिल गरेको अनुभव सुनाउँदै अस्पतालको सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली चौबीसै घण्टा तयारी अवस्थामा रहेको प्रतिबद्धता जनाए।

आकस्मिक उपचारका लागि आवश्यक पर्ने डाक्टर, नर्सिङ स्टाफ, औषधि, मेडिकल उपकरण तथा बिरामी राख्ने शय्या (बेड) पर्याप्त मात्रामा व्यवस्थापन गरिएको अस्पताल प्रशासनले जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै अस्पतालले जुनसुकै अवस्थामा पनि द्रुत स्वास्थ्य सेवा प्रवाह गर्न सक्ने गरी आन्तरिक तयारी चुस्त बनाएको छ।

प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रबार