२०८३ असोज ११ , आइतबार
स्थानीय खबर

पहिरोमा गम्भीर घाइते भएका खड्काको उद्धार



सुर्खेत । हुम्लाको अदानचुली गाउँपालिका–३ श्रीनगरमा पहिरोबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएका दैलेखका बखत खड्कालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ। आइतबार बिहान करिब ३ बजे पहिरो खस्दा ढुङ्गाले लागेर घाइते भएका खड्काको टाउकोलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ।

घटनालगत्तै स्थानीय श्रीनगर स्वास्थ्य चौकीमा पुर्‍याएर प्राथमिक उपचार गरिए पनि खड्काको स्वास्थ्य अवस्था जटिल रहेकाले थप उपचारका लागि प्रदेश अस्पताल ल्याउनुपरेको स्वास्थ्यकर्मी महेन्द्र थापाले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय दैलेखको विशेष अनुरोध तथा गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टर परिचालन गरी घाइतेलाई हुम्लाबाट उद्धार गरेर सुर्खेत ल्याइएको हो। अहिले उनको प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २०८३ असोज ११ गते आइतबार