२०८३ असोज ११ , आइतबार
कर्णालीमा बाढी र पहिरोको उच्च जोखिम

तिला र ठूलीभेरी सतर्कता तह नजिक, प्रमुख सडक अवरुद्ध



सुर्खेत । अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख नदी तथा खोलाहरूमा जलसतह तीव्र रूपमा बढ्दै जाँदा बाढी र पहिरोको जोखिम उच्च बनेको छ। डोल्पाको ठूलीभेरी र कर्णालीका विभिन्न सहायक नदीहरूमा पानीको बहाव सतर्कता तह नजिक पुगेको छ भने मुगु, कालिकोट र हुम्लाका विभिन्न स्थानमा पहिरो खस्दा प्रमुख राजमार्ग तथा स्थानीय सडकहरू अवरुद्ध भएका छन्।

प्रदेश जल तथा मौसम अवलोकन तथ्याङ्क अनुसार डोल्पास्थित ठूलीभेरी नदीमा पानीको सतह ३.४६ मिटर पुगेको छ, जहाँ ३.५६ मिटरलाई सतर्कता र ३.७६ मिटरलाई खतराको तह मानिन्छ। यस्तै, मुगु कर्णालीमा जलसतह ५.१ मिटर (सतर्कता तह ७.५ मिटर) र हुम्लाको सर्केगाडमा कर्णाली नदीको सतह २.७४ मिटर पुगेर निरन्तर बढ्दो क्रममा रहेको छ। कालिकोटको तिला कर्णालीमा जलसतह ३.२७ मिटर रहे पनि हाल घट्दो क्रममा छ भने जुम्लाको तिला कर्णाली (३.७४ मिटर) र सिजा खोलामा (२.८६ मिटर) जलसतह स्थिर रहेको छ।

लगातारको वर्षासँगै खसेको पहिरोका कारण कर्णालीका रणनीतिक सडक सञ्जालहरू ठप्प भएका छन्। कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। त्यसैगरी, नाग्मा–गमगढी सडकखण्डअन्तर्गत मुगुको झारिखोलामा पहिरो खस्दा यातायात सम्पर्क विच्छेद भएको छ। यता कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चा, खार्पुनाथ–१ गोप्चेगौडा र नाम्खा–४ याल्वाङ क्षेत्रमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ। जोखिमयुक्त नदी किनार र पहिरोग्रस्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ असोज ११ गते आइतबार