सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको समग्र आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको उल्लेख गर्दै यसका लागि निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिइने बताएका छन्। होटल व्यवसायी सङ्घ कर्णाली प्रदेश र सुर्खेत जिल्ला समितिका पदाधिकारीहरूसँगको छलफलका क्रममा मुख्यमन्त्री शाहीले कर्णालीको आर्थिक विकासलाई पर्यटनसँग जोडेर अघि बढाउनुपर्ने र यसमा होटल व्यवसायीहरूको सक्रियता एवं भूमिका निर्णायक हुने स्पष्ट पारे।
प्रदेश सरकारले अघि बढाउन लागेको ‘पर्यटन दशक’ को पूर्वतयारी र प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना हुने आगामी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी मुख्यमन्त्री शाहीले व्यवसायीहरूसँग गहन छलफल गरेका हुन्। खेलकुद प्रतियोगिताका क्रममा कर्णाली भित्रिने खेलाडी, पदाधिकारी तथा पर्यटकहरूको सहज आवास एवं व्यवस्थापनका लागि यहाँका होटलहरूको क्षमता र सेवा सुविधा चुस्त बनाउनुपर्नेमा जोड दिँदै उनले प्रदेशमा पर्यटक आकर्षित गर्न सरकारले गर्नुपर्ने नीतिगत सुधार तथा पूर्वाधार विकासबारे व्यवसायीहरूसँग सुझाव मागेका थिए।

छलफलका क्रममा होटल व्यवसायी सङ्घ कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाहीले पर्यटन दशकको औपचारिक सुरुआत गर्नुअघि प्रमुख पर्यटकीय गन्तव्यहरूसम्म पुग्ने सडक सञ्जाललाई सहज र सुरक्षित बनाउनुपर्नेमा जोड दिए। साथै, पर्यटकीय स्थल वरपर होटल तथा आतिथ्य क्षेत्रमा निजी लगानी भित्र्याउन जग्गा उपलब्ध गराउने नीति ल्याउनुपर्ने उहाँको सुझाव थियो। यस्तै, होटल व्यवसायी सङ्घ सुर्खेतकी अध्यक्ष प्रतिभा वलीले कर्णालीका होटलहरूको गुणस्तरका आधारमा वर्गीकरण गर्नुपर्ने र पर्यटकीय सवारी साधनका लागि छुट्टै नम्बर प्लेट वा आवश्यक सहजीकरणको व्यवस्था मिलाइदिन प्रदेश सरकारसँग आग्रह गरिन्।
प्रतिक्रिया दिनुहोस्