सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभा सदस्य (सांसद) पद गुमाएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सिफारिसका आधारमा प्रदेशसभा सचिवालयले गरेको पदमुक्तिसम्बन्धी निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट खारेज भएसँगै शर्माको सांसद पद गुमेको हो। न्यायाधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार शर्माद्वारा दायर रिट खारेज गर्ने फैसला गरेसँगै उहाँको पद औपचारिक रूपमा रिक्त भएको छ।

तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बिच एकीकरण भई नेकपा बनेपछि शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीतर्फ लागेका थिए। त्यसक्रममा माओवादी केन्द्र कर्णाली प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका शर्माले २०८२ मङ्सिर १७ गते दलको नेता पदबाट राजीनामा दिएका थिए। प्रमुख सचेतक कृष्णबहादुर जिसीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले शर्माको राजीनामा स्वीकृत गर्दै उहाँलाई प्रदेशसभा सदस्य पदबाट समेत निष्कासन गर्न केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको थियो। सोही सिफारिसका आधारमा प्रदेशसभा सचिवालयले उहाँको पद रिक्त भएको सूचना जारी गरेको थियो।
शर्मा २०७९ को प्रदेशसभा निर्वाचनमा रुकुम पश्चिम (ख) बाट माओवादी केन्द्रका तर्फबाट निर्वाचित भई कर्णाली प्रदेशको मुख्यमन्त्रीसमेत बन्नुभएको थियो। राजनीतिक दल परिवर्तन र संसदीय दलको निर्णय उल्लङ्घनका आधारमा भएको कारबाहीलाई सर्वोच्च अदालतले वैधानिकता दिएसँगै उहाँको प्रदेशसभा सदस्य पद समाप्त भएको छ।
प्रतिक्रिया दिनुहोस्