सुर्खेत । मुगुको मुगुम कार्मारोङ गाउँपालिका र हुम्लाको चंखेली गाउँपालिकाको सीमावर्ती क्षेत्रमा रहेको मिमी सामुदायिक वनमा जडीबुटी सङ्कलनका क्रममा दुई पक्षबिच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता रहेका छन्। वन क्षेत्रको सिमाना र जडीबुटी सङ्कलनको विषयलाई लिएर भएको झडपपछि भाग्ने क्रममा लेक लागेर (अल्टिच्युड सिकनेस) मुगुम कार्मारोङ गाउँपालिका–९ का २२ वर्षीय गणेशबहादुर बुढाको मृत्यु भएको हो। जडीबुटी खोज्न वन पसेका १३ जना स्थानीयमध्ये १० जना सम्पर्कमा आइसकेका छन् भने बाँकी दुई जनाको अवस्था अझै अज्ञात रहेको छ।

घटनाबारे जानकारी दिँदै मुगुका प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले गत असोज २ गते जडीबुटी सङ्कलनका लागि निस्किएका स्थानीयहरू चंखेली गाउँपालिका–२ को वन क्षेत्र हुँदै कार्मारोङ–७ स्थित मिमी वनमा पुगेपछि विवाद उत्पन्न भएको बताएका छन्। उक्त वन क्षेत्रमा दुवै जिल्लाका बासिन्दाबिच सिमानालाई लिएर लामो समयदेखि विवाद रहँदै आएकाले जडीबुटी सङ्कलनका क्रममा भिडन्त भएको र त्यसपछि भागाभाग भएको थियो। झडपपछि सुरुमा नौ जना सम्पर्कविहीन भएको खबर आए पनि खोजीका क्रममा सात जना सम्पर्कमा आइसकेका छन् भने बेपत्ता दुई जनाको खोजी कार्यलाई तीव्रता दिइएको छ।
अत्यन्तै दुर्गम र हिमाली क्षेत्रमा घटना भएकाले मृतक बुढाको शवलाई घटनास्थलबाट तल झारेर परीक्षण (पोस्टमार्टम) का लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ। बेपत्ता नागरिकहरूको खोजीका लागि जिल्ला प्रहरी कार्यालय मुगु र जिल्ला प्रशासन कार्यालय हुम्लाबिच निरन्तर समन्वय भइरहेको छ भने दुवै जिल्लाबाट खोजी टोली परिचालन गरिएको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै स्थानीय प्रशासन तथा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया दिनुहोस्