सुर्खेत । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत कर्णालीका अधिकांश वडामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएकाे छ । प्रदेश निर्वाचन अधिकृत उत्तम आचार्यले जानकारी दिए । उनका अनुसार अधिवेशन सम्पन्न भएका ९५ प्रतिशत वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएका छन् । त्यस्तै क्षेत्रिय प्रतिनिधिहरू पनि सर्वसम्मत रूपमा चयन भएकाे उनकाे भनाइ छ । कांग्रेसले देशभर शनिबार र आइतबारभित्रै वडा अधिवेशन सक्ने कार्यतालिका थियाे । जसमध्ये कर्णाली प्रदेशका सुर्खेत, रूकुमपश्चिम, जाजरकाेट, डाेल्पा, हुम्ला, दैलेख, मुगु र जुम्लामा शनिबार नै अधिवेशन सुरू भएकाे थियाे ।
तर कालीकाेट र सल्यानमा आइतबार मात्रै वडा अधिवेशन भएर साेही दिन सकिएकाे प्रदेश निर्वाचन समितिले जनाएकाे छ । केन्द्रीय लक्ष्य अनुसार कर्णालीका अधिकांश वडाहरूमा सहमति प्रक्रियामार्फत अधिवेशनका भएकाे कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले जानकारी दिएका छन्। केही दिन अघिसम्म आन्तरिक गुटबन्दीमा विभाजित देखिएको कर्णाली कांग्रेस वडा अधिवेशनको चरणसम्म आइपुग्दा अधिकांश क्षेत्रमा एकताबद्ध भएर महाधिवेशन प्रक्रियामा सहभागी भएको छ।

अधिवेशनका क्रममा केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का स्वयं सामाजिक सञ्जालमार्फत तटस्थ बसेको घोषणा गरे पनि उहाँ निकट मानिने कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, प्रदेश सभापति ललितजंग शाही र पूर्वमन्त्री हृदयराम थानी लगायतका शीर्ष नेताहरू वडा अधिवेशनमा खटिएर क्षेत्रीय प्रतिनिधि चयन भइसकेका छन्। खड्का पक्षधर मानिने अधिकांश नेताहरू महामन्त्री गगन थापा समूहतिर नजिकिएका छन् भने संस्थापन (देउवा) पक्षका पूर्वमन्त्री ऐनबहादुर शाही, प्रदेश प्रवक्ता दमन शाही, पूर्वमन्त्री घनश्याम भण्डारी तथा डा. आरजू राणा निकट मानिने पूर्वकेन्द्रीय सदस्य सीता रानासमेत वडा स्तरबाटै प्रतिनिधि चुनिएका छन्।
यद्यपि, आन्तरिक सहमतिबिनै हतारमा अधिवेशन सुरु गरिएको भन्दै युवा नेता भूपेन्द्रजंग शाहीले भने प्रक्रियाप्रति कडा असन्तुष्टि व्यक्त गर्दै अधिवेशन बहिष्कार गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विना सहमति एकलौटी ढङ्गले अधिवेशन अघि बढाउनु पार्टी विभाजनको बीजारोपण भएको दाबी गर्दै आफू विचार र अडान छाडेर भीडको पछि नलाग्ने स्पष्ट पारेका छन्। केही वडामा विवाद र असन्तुष्टि कायमै रहे पनि कर्णालीका अधिकांश स्थानमा भने वडा अधिवेशनले पूर्णता पाएको छ।
प्रतिक्रिया दिनुहोस्