२०८३ असोज ४ , आइतबार
स्थानीय खबर

दुई लाख नगदसहित सात जुवाडे पक्राउ



सुर्खेत । सुर्खेत प्रहरीले जिल्लाको वीरेन्द्रनगरबाट करिब दुई लाख रुपैयाँ नगद र ठूलो परिमाणमा ताशसहित सात जना जुवाडेलाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–११ स्थित पिपिराबाट उनीहरूलाई जुवाको खालबाटै आइतबार रङ्गेहात पक्राउ गरेको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट संयुक्त रूपमा खटिएको टोलीले जुवातास खेलिरहेको अवस्थामा छापा मारेको थियो। प्रहरीका अनुसार जुवाको खालबाट १८ बुक ताश र एक लाख ९७ हजार २ सय २० रुपैयाँ नगद बरामद गरिएको छ।

पक्राउ परेका सातै जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ। उनीहरूलाई जुवा सम्बन्धी प्रचलित ऐन–कानुन अनुसार कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) कवीन्द्रसिंह बोहराले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८३ असोज ४ गते आइतबार