सुर्खेत । राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर वीरेन्द्रनगर नगरपालिकाले शिक्षा क्षेत्रका विविध सवालमा निरन्तर समाचार सम्प्रेषण गरी योगदान पुर्याउँदै आएका नौ जना पत्रकारहरूलाई नगदसहित सम्मानित गरेको छ। नगर क्षेत्रभित्रका विद्यालयको शैक्षिक अवस्था, पूर्वाधार, गुणस्तर, शिक्षक तथा विद्यार्थीका समस्या एवं स्थानीय तहका शिक्षा नीति तथा कार्यक्रमहरूलाई सञ्चार माध्यममार्फत उजागर गरेको कदर गर्दै नगरपालिकाले उनीहरूलाई जनही १० हजार रुपैयाँ नगद र कदरपत्रसहित सम्मान गरेको हो।

सम्मानित हुने पत्रकारहरूमा ललित बुढा, केशव ढकाल, ईश्वर अधिकारी, तृप्ति शाही, दीपकजङ्ग शाही, चाँदनी कठायत, जगतदल जनाला, जनाला बीके र विष्णु न्यौपाने रहेका छन्। शिक्षा क्षेत्रका समस्या, चुनौती र सम्भावनाहरूलाई सार्वजनिक बहसमा ल्याएर सम्बन्धित निकायको ध्यानाकर्षण गराउन पत्रकारहरूले खेलेको भूमिका महत्त्वपूर्ण रहेकाले दिवसलाई अवसरका रूपमा उपयोग गर्दै उनीहरूलाई प्रोत्साहन स्वरूप पुरस्कृत गरिएको नगरपालिकाले जनाएको छ।
सम्मान प्राप्त गरेपछि पत्रकारहरूले यस किसिमको प्रोत्साहनले शिक्षा र सञ्चार क्षेत्रबिचको सहकार्यलाई थप सुदृढ बनाउनुका साथै आगामी दिनमा विद्यार्थी, शिक्षक, अभिभावक र शैक्षिक संस्थासँग जोडिएका सवालमा अझ बढी खोजमूलक एवं जिम्मेवार भएर कलम चलाउन हौसला मिलेको बताएका छन्। राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षा पत्रकारितालाई कदर गर्दै सञ्चारकर्मीहरूलाई पुरस्कृत गरिएकोमा स्थानीय पत्रकार, बुद्धिजिवी तथा शुभेच्छुकहरूले खुसी व्यक्त गर्दै पुरस्कृत सबैलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्