सुर्खेत । रसुवामा हिमनदी भत्किँदा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार र राहतका लागि नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आर्थिक सहयोग उपलब्ध गराएको छ। दलका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५५ हजार रुपैयाँ जम्मा गरिएको हो।

प्राकृतिक विपत्तिको यस कठिन घडीमा प्रभावित नागरिकहरूलाई तत्काल राहत र पुनर्स्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिएका छन्। नेता कँडेलले विपद्मा परेका नागरिकहरूको उद्धार, राहत तथा उपचारलाई थप प्रभावकारी बनाउन सबै क्षेत्र र पक्षबाट ऐक्यबद्धता एवं सहकार्य आवश्यक रहेको समेत उल्लेख गरेका छन्।
संसदीय दलका सदस्यहरूको पारिश्रमिकबाट कट्टी गरी सङ्कलन गरिएको सो रकम नेपाल बैंक लिमिटेडको वीरेन्द्रनगर शाखामार्फत कोषको खातामा दाखिला गरिएको छ। विपद्को यस संवेदनशील समयमा प्रभावित परिवारहरूको उद्धार तथा राहत अभियानलाई थप सुदृढ र सबल बनाउन एमाले संसदीय दलको यो सहयोगले राहत पुग्ने विश्वास लिइएको छ।
प्रतिक्रिया दिनुहोस्