सुर्खेत । कर्णाली प्रदेशसभा सचिवालयको प्रवक्तामा कानुन अधिकृत मदन खड्का नियुक्त भएका छन्। प्रदेशसभा सचिवालयले लामो समयदेखि कार्यरत खड्कालाई कानुन अधिकृतको साविक जिम्मेवारीसँगै प्रवक्ताको थप महत्त्वपूर्ण जिम्मेवारी सुम्पेको हो।

सचिवालयभित्र जिम्मेवार, निष्ठावान् र मेहनती कर्मचारीका रूपमा पहिचान बनाएका खड्काको निरन्तर कार्यदक्षता, प्रशासनिक अनुभव र उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै नयाँ जिम्मेवारी दिइएको प्रदेशसभा सचिव अर्जुन खड्काले जानकारी दिएका छन्। यसअघि खड्काले प्रदेशसभा सचिवालय अन्तर्गत प्रदेश मामिला समितिको समिति सचिव तथा विधेयक शाखा प्रमुखको जिम्मेवारीसमेत सफलतापूर्वक निर्वाह गरिसकेका छन्।
नयाँ जिम्मेवारी पाएपछि प्रतिक्रिया दिँदै नवनियुक्त प्रवक्ता खड्काले सचिवालयले आफूमाथि देखाएको उच्च विश्वास र सुम्पेको जिम्मेवारीमा कुनै त्रुटि आउन नदिने बताएका छन्। उनले आगामी दिनमा प्रदेशसभाका सूचना तथा गतिविधिहरूलाई सञ्चार माध्यम र आम नागरिकसमक्ष पारदर्शी रूपमा पुर्याउँदै अझ बढी जवाफदेही भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्