२०८३ भदौ ३१ , बुधबार
हवाइ सेवाका लागि सरकारले छुट्याे ६० लाख बजेट

वीरेन्द्रनगरबाटै हिमाली जिल्लामा नियमित उडानकाे तयारी



सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी वीरेन्द्रनगरबाट हिमाली तथा दुर्गम जिल्लाहरूमा नियमित हवाई सेवा सञ्चालन गर्ने तयारी पुनः तीव्र बनाएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा सुर्खेतबाट हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोट उडान भर्ने जहाजलाई सहुलियत उपलब्ध गराउन ६० लाख रुपैयाँ बजेट विनियोजन गर्दै प्रक्रिया अघि बढाएको हो।

यसपटक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्काले सुर्खेतबाट हिमाली जिल्लामा नियमित उडान सञ्चालनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न मातहतका निकायलाई निर्देशन दिएकी छन्। मन्त्रालयले हवाई सेवा सञ्चालन तथा बजेट कार्यान्वयनका लागि आवश्यक कार्यविधिसमेत तयार पारिसकेको छ। मन्त्रालयका प्रवक्ता महेश नेपालीका अनुसार कार्यविधि स्वीकृतिको चरणमा रहेको र स्वीकृत हुनासाथ नागरिक उड्डयन प्राधिकरण (क्यान) तथा वायुसेवा कम्पनीहरूसँग औपचारिक सम्झौता गरी सेवा सुरु गरिनेछ।

प्रदेश राजधानीबाट आफ्नै प्रदेशका हिमाली जिल्लामा सिधा उडान गर्ने योजना विगतमा पनि बजेटमा समेटिने गरे तापनि दिगो हुन नसक्दा सेवा बन्द हुने गरेको थियो। यसअघि तारा एयर लगायतका वायुसेवा कम्पनीहरूले केही समय नियमित उडान भरे पनि पर्याप्त यात्रु नभएको र सञ्चालन खर्च बढी भएको भन्दै सेवा स्थगित गरेका थिए। प्रदेश राजधानीबाटै नियमित उडान नहुँदा हुम्ला, डोल्पा, मुगु र जुम्लाका नागरिकहरू आफ्नै प्रदेशको राजधानी वीरेन्द्रनगर आउजाउ गर्न लुम्बिनी प्रदेशको नेपालगन्ज विमानस्थलको भर पर्नुपर्ने बाध्यता अझै कायमै छ।

६० लाख रुपैयाँको बजेटले तत्कालका लागि वायुसेवा कम्पनीहरूलाई प्रोत्साहन दिए पनि उडानलाई दीर्घकालीन रूपमा टिकाउनु सरकारका लागि मुख्य चुनौती देखिएको छ। पर्याप्त यात्रु सङ्ख्या, सन्तुलित भाडा दर र निजी वायुसेवा कम्पनीहरूसँग दीर्घकालीन समझदारी नभए उडान पुनः बीचमै रोकिने जोखिम रहनेछ। मन्त्रालयले यसपटक भने स्पष्ट कार्यविधि र क्यानसँगको समन्वयमा प्रक्रिया अघि बढाएकाले यो प्रयासले सुर्खेत र कर्णालीका हिमाली जिल्लाबिच स्थायी हवाई सम्बन्धको आधार खडा गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ भदौ ३१ गते बुधबार