२०८३ भदौ ३१ , बुधबार
मुख्यमन्त्री कार्यालयको कार्यसम्पादन कमजोर

बार्षिक बजेट खर्च जम्मा ५५ प्रतिशत मात्रै



सुर्खेत । अन्य मन्त्रालयहरूको कामकारबाहीको अनुगमन गर्ने र आवश्यक निर्देशन दिने मुख्य जिम्मेवारीमा रहेको कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै कार्यसम्पादन निकै कमजोर पाइएको छ। बुधबार सम्पन्न आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा बैठकमा प्रस्तुत तथ्याङ्क अनुसार मुख्यमन्त्री कार्यालयको वित्तीय प्रगति जम्मा ५५.३१ प्रतिशतमा सीमित भएको हो।

गत आर्थिक वर्षमा मुख्यमन्त्री कार्यालयका लागि कुल ६ अर्ब ९ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा असार मसान्तसम्म ३ अर्ब ३७ करोड १६ लाख रुपैयाँ मात्र खर्च हुन सकेको छ। कार्यालय मातहत रहेका निकायहरू सङ्गठनगत रूपमा सुस्त देखिँदा कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानले ७४.११ प्रतिशत, मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रमले ६१ प्रतिशत र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमले ५८.१३ प्रतिशत मात्र बजेट खर्च गरेका छन्। आर्थिक वर्ष २०८२ वैशाखदेखि २०८३ असारसम्म बसेका ३१ वटा मन्त्रिपरिषद् बैठकबाट ८५ वटा निर्णय भए पनि ती निर्णयहरूको प्रभावकारी समीक्षा हुन सकेको छैन। महत्त्वाकाङ्क्षी योजना मानिएको ‘डिजिटल कर्णाली फ्रेमवर्क’ का लागि विनियोजित बजेट समर्पण गरिएको छ भने घर बीमा जस्ता नागरिक लक्षित कार्यक्रमहरू कार्यान्वयनमै जान सकेनन्।

मुख्यमन्त्री कार्यालयकै फितलो कार्यसम्पादनलाई लिएर कर्णाली प्रदेश सरकारकी मुख्य सचिव राधीका अर्यालले समेत कडा असन्तुष्टि व्यक्त गरेकी छन्। समीक्षा बैठकमा बोल्दै मुख्य सचिव अर्यालले विगतको प्रगति विवरण कुनै पनि हिसाबले सन्तोषजनक नरहेको भन्दै चालु आर्थिक वर्षमा काम गर्ने शैली र बजेट कार्यान्वयनको पाटोमा व्यापक सुधार गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याइन्।

आफ्नै कार्यालयको प्रगति नाजुक देखिएपछि मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कर्मचारी प्रशासनलाई कार्यसम्पादनमा सुधार ल्याउँदै विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा द्रुत गति दिन कडा निर्देशन दिएका छन्। मुख्यमन्त्री कार्यालयकै प्रगति कमजोर हुँदा अन्य मन्त्रालय र मातहतका कार्यालयहरूमा गलत सन्देश जाने भन्दै मुख्यमन्त्री शाहीले बजेट खर्च नहुनुका वास्तविक कारण, व्यावहारिक समस्या र कानुनी अवरोधहरू पहिचान गरी तत्काल समाधान खोज्न भनेका छन्। ऐन, नियम वा कार्यविधि संशोधन गर्नुपर्ने भए बेलैमा प्रक्रिया अघि बढाउन र बेरुजु घटाउँदै परिणाममुखी काम गर्न उनले उच्च पदस्थ कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

प्रकाशित मिति : २०८३ भदौ ३१ गते बुधबार