सुर्खेत । विगत तीन दिनदेखि पहिरो र लेदोका कारण पूर्ण रूपमा अवरुद्ध बनेको कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड ७२ घण्टापछि पुनः सञ्चालनमा आएको छ। गत शनिबार बेलुकी ५:३० बजेदेखि पहिरोका कारण ठप्प बनेको सो राजमार्ग मङ्गलबार साँझ ४:०० बजेबाट एकतर्फी रूपमा सुचारु भएको हो।
लगातारको वर्षाका कारण सडकमा माथिबाट लेदो र ठूला पहिरो झर्ने क्रम नरोकिएकाले सडक खुलाउन लामो समय लागेको थियो। मङ्गलबार वर्षा रोकिएपछि डिभिजन सडक कार्यालय र प्रहरीको संयुक्त पहलमा भारी उपकरण (डोजर र जेसीबी) प्रयोग गरी सडकमा थुप्रिएका हिलो र पहिरो पन्छाउने काम सम्पन्न गरिएको हो।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार कर्णाली राजमार्गका सबैभन्दा जोखिमयुक्त तथा पहिरो प्रभावित क्षेत्रहरूमा हाललाई एकतर्फी रूपमा सडक खुलाएर यातायात सञ्चालन गरिएको छ। माथिबाट खसेको लेदो पन्छाएर एकतर्फी सवारी साधन पास गराउने व्यवस्था मिलाइएको छ। पहिरोको अवशेष हटाई सवारी आवागमन सहज बनाइएको छ। उच्च जोखिमयुक्त मानिने यस क्षेत्रमा थुप्रिएको लेदो र पहिरो सफा गरी रोकिएका सवारीसाधन पठाउन सुरु गरिएको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (DSP) हिमबहादुर खत्रीका अनुसार वर्षा रोकिएपछि मङ्गलबार बिहानैदेखि पहिरो हटाउने कामलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइएको थियो। “लगातारको वर्षाले गर्दा सडकमा माथिबाट निरन्तर लेदो खसिरहेकाले काम गर्न निकै चुनौती भएको थियो,” डिएसपी खत्रीले भने, “पानी रोकिएलगत्तै डोजर र जनशक्ति परिचालन गरी हिलो तथा पहिरो हटाइएकाले साँझबाट सडक खुलाउन सम्भव भएको हो।” सडक ७२ घण्टासम्म लगातार अवरुद्ध हुँदा कर्णालीका माथिल्ला जिल्लाहरू जोड्ने प्रमुख सडक सञ्जाल ठप्प बनेर हजारौँ यात्रुहरू बीच बाटोमै अलपत्र परेका थिए। सडक सुचारु भएसँगै विगत तीन दिनदेखि रोकिएका मालवाहक ट्रक, यात्रुवाहक बस, जीप तथा निजी सवारीसाधनहरू आफ्नो गन्तव्यतर्फ लागेका छन्। सडक डिभिजन कार्यालयले कर्णाली राजमार्ग अझै पनि पहिरोको जोखिममा रहेकाले यात्रा गर्दा मौसमको अवस्था बुझेर र आवश्यक सावधानी अपनाएर मात्र सवारी चलाउन चालक तथा यात्रुहरूलाई आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्