२०८३ भदौ २८ , आइतबार
स्थानीय खबर

भोटेकोशी बाढीपीडित सिम्ता २५ लाख सहयाेग



सुर्खेत। सुर्खेतको सिम्ता गाउँपालिकाले गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ठूलो आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिकाले विपद्मा परेका नागरिकहरूप्रति मानवीय ऐक्यबद्धता जनाउँदै करिब २५ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको हो। उक्त सहयोग रकम गाउँपालिकाको संस्थागत बजेट र गाउँपालिकाअन्तर्गत कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूको तलबबाट कट्टा गरी सङ्कलन गरिने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माका अनुसार विपद्को यस कठिन घडीमा पीडित परिवारलाई मद्दत पुर्‍याउन गाउँपालिका र त्यहाँ कार्यरत कर्मचारीहरूले संयुक्त रूपमा स्रोत जुटाएका हुन्। सहयाेग मध्ये गाउँपालिकाको बजेटबाट तीन लाख रुपैयाँ र बाँकी रकम गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको पारिश्रमिक (तलब) बाट रकम कट्टा गरी सङ्कलन गरिने छ । सङ्कलित सम्पूर्ण सहयोग रकम विपद् व्यवस्थापनको केन्द्रीय संरचनाअन्तर्गत रहेको ‘प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष’ मा एकमुष्ट जम्मा गरिने प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिएका छन्।

भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक विस्थापित र प्रभावित बनेका छन्। सोही प्राकृतिक विपत्तिमा परेका नागरिकलाई तत्काल राहत पुर्‍याउनु स्थानीय सरकारको दायित्व भएकाले पालिकाले यो कदम चालेको हो।

“पालिकाको बजेटबाट ३ लाख र पालिकामा कार्यरत सबै कर्मचारीको तलबबाट कटाएर गरी अनुमानित करिब २५ लाख सहयोग गर्ने निर्णय गरेका छौँ,” प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले भने, “स्थानीय सरकारको तर्फबाट विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने मुख्य उद्देश्यले यो आर्थिक सहयोगको निर्णय गरिएको हो।” रसुवाको भोटेकोशी बाढीमा कर्णाली प्रदेशका समेत थुप्रै श्रमिक तथा नागरिकहरू प्रभावित भएको सन्दर्भमा सुर्खेतको सिम्ता गाउँपालिकाले देखाएको यो तत्परता र अग्रसरतालाई एक सकारात्मक र सह्रानीय प्रयासका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८३ भदौ २३ गते मंगलबार