सुर्खेत। वीरेन्द्रनगर नगरपालिका–८ मा नवनिर्मित महिलामैत्री ‘मिलन पार्क’ निर्माण कार्य सम्पन्न भएसँगै औपचारिक रूपमा सञ्चालनमा आएको छ। आइतबार आयोजित एक विशेष समारोहका बिच वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालले पार्कको उद्घाटन गरेकी हुन्।
यो पार्क युरोपियन युनियन र फिन्ल्यान्ड सरकारको आर्थिक सहयोग तथा वीरेन्द्रनगर नगरपालिकामा सञ्चालित ‘सिटीज फर वुमेन’ (महिलामैत्री सहर) परियोजनाअन्तर्गत निर्माण गरिएको हो। पार्क निर्माणको कुल करबाहेक करिब १ करोड ६५ लाख रुपैयाँ खर्च भएकाे छ । १० महिनामा एसबी, केएनएस र त्रिशक्ति जेभी सुर्खेतले पार्क निर्माण गरेकाे हाे । मिलन पार्कलाई महिलामैत्री अवधारणामा ढालिए पनि समाजका सबै उमेर समूह र वर्गका नागरिकले प्रयोग गर्न सक्ने गरी बहुउपयोगी बनाइएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख मोहनमाया ढकालले मिलन पार्क महिलामैत्री अवधारणामा निर्माण गरिएको भए तापनि यसमा समग्र नगरबासीले अपनत्व महसुस गर्न सक्ने बताइन्। बालबालिका, युवा, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूसम्म सबैका लागि यो पार्क उत्तिकै उपयोगी हुने उनको भनाइ थियो। “सार्वजनिक स्थलहरू समाजका हरेक नागरिकका लागि सुरक्षित, सहज र सहजै पहुँचयोग्य हुनुपर्छ,” नगरप्रमुख ढकालले भनिन्, “यस्ता पूर्वाधारको दिगो प्रयोग, संरक्षण र उचित व्यवस्थापनमा नगरपालिकाका साथसाथै स्थानीय समुदायको पनि उत्तिकै महत्त्वपूर्ण दायित्व रहन्छ।” विभिन्न उमेर र सामाजिक पृष्ठभूमिका नागरिकहरूलाई एउटै स्थानमा जोड्दै यो पार्कले वीरेन्द्रनगरभित्र एक सुरक्षित, समावेशी र उत्कृष्ट मनोरञ्जनात्मक सार्वजनिक थलोको रूपमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्