सुर्खेत । सुर्खेत जिल्ला भलिबल सङ्घको पाँचौँ जिल्ला अधिवेशनबाट रविन्द्रजङ्ग शाही (लेकबेसी) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। प्रादेशिक राजधानी वीरेन्द्रनगरमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि शाहीको नेतृत्वमा नयाँ नेतृत्वको टुङ्गो लगाएको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा गगन सिंह ठकुरी (सिम्ता), सचिवमा धनबहादुर चौधरी (वीरेन्द्रनगर) र कोषाध्यक्षमा गणेशबहादुर शाही (वीरेन्द्रनगर) चयन भएका छन्। यसैगरी कार्यसमिति सदस्यहरूमा बराहातालका गोपाल गुरुङ र अमृता बिष्ट, पञ्चपुरीका डम्मर बिसी तथा लेकबेसीका तीर्थ गाहा सर्वसम्मत रूपमा चुनिएका छन्।

अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित गगन सिंह ठकुरीले आफूलाई विश्वास गरेर जिम्मेवारी सुम्पिएकोमा वर्तमान पदाधिकारी, कर्णाली प्रदेश भलिबल सङ्घ, निर्वाचन समिति लगायत सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। उनले आगामी दिनमा सुर्खेतमा भलिबल खेलको समग्र विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा खेल गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ कार्यसमितिले जुझारु भूमिका निर्वाह गर्ने बताएका छन्।
सङ्घको नयाँ कार्यसमितिले जिल्लाका खेलाडी, प्रशिक्षक, रेफ्री तथा भलिबलप्रेमीहरूसँग निरन्तर सहकार्य गर्दै सुर्खेतको भलिबल खेललाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता समेत जनाएको छ।
प्रतिक्रिया दिनुहोस्