सुर्खेत। कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयकी सचिव रोशनीकुमारी श्रेष्ठले विपद् व्यवस्थापन, सामाजिक सुरक्षा तथा मानवीय सेवाका क्षेत्रमा नेपाल रेडक्रस सोसाइटीसँग निरन्तर सहकार्य गरेर अगाडि बढ्ने बताएकी छन्। नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाको ४५ औँ वार्षिक साधारण सभा तथा नेपाल रेडक्रस सोसाइटीको ६४ औँ स्थापना दिवसका अवसरमा वीरेन्द्रनगरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो विचार व्यक्त गरेकी हुन्।

कार्यक्रमलाइ सम्बाेधन गर्दै सचिव श्रेष्ठ
प्रदेश सरकारले जनताको हित र समग्र सामाजिक विकासका लागि विभिन्न गैरसरकारी तथा सामाजिक संघसंस्थाहरूसँग हातेमालो गरिरहेको उल्लेख गर्दै उनले रेडक्रस जस्तो स्थापित, निष्पक्ष र विश्वसनीय मानवीय संस्थासँगको सहकार्यलाई आगामी दिनमा अझ मजबुत र फराकिलो बनाइने प्रतिबद्धता जनाइन्।
विपन्न र सीमान्तकृत समुदायको उत्थानमा जोड
सम्बोधनका क्रममा सचिव श्रेष्ठले लक्षित वर्गको अधिकार संरक्षणमा रेडक्रसको भूमिका महत्त्वपूर्ण हुने बताइन्। उनले भनिन्, “महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण र सामाजिक सुरक्षाका कार्यक्रमहरूमा रेडक्रसको विशाल स्वयंसेवी सञ्जाललाई परिचालन गरी समुदायस्तरमै प्रभावकारी काम गरिनेछ।” सरकारी प्रयास र गैरसरकारी क्षेत्रको लामो अनुभव एवं जनशक्तिलाई एकाकार गर्दै प्रदेशका विपन्न तथा सीमान्तकृत समुदायको जीवनस्तर सुधारका लागि मन्त्रालयले नीतिगत र व्यावहारिक समन्वय गर्ने उनको भनाइ थियो।

कार्यक्रममा सहभागी अतिथिहरू
कर्णाली प्रदेश भौगोलिक रूपमा विपद्को उच्च जोखिममा रहेको चर्चा गर्दै उनले बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपका समयमा तत्काल उद्धार, राहत एवं पुनर्स्थापनाका कार्यहरूलाई छिटो र प्रभावकारी बनाउन मन्त्रालय र रेडक्रस एकीकृत रूपमा अगाडि बढ्न आवश्यक रहेको औँल्याइन्।

कार्यक्रमकाे समापन गर्दै सभापति अाचार्य ।
१० लाख स्वयंसेवक र ६ हजारभन्दा बढी सर्कलको सञ्जाल
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुर्खेतका जिल्ला सभापति रामलाल आचार्यले संस्थाको ऐतिहासिक पृष्ठभूमि र साङ्गठनिक विस्तारबारे जानकारी गराएका थिए। उनका अनुसार विसं २०२० साल भदौ १९ गतेका दिन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघको सदस्य र रेडक्रसको अन्तर्राष्ट्रिय समिति (ICRC) मा आबद्ध भई नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको थियो। विश्व रेडक्रस अभियानको अभिन्न अङ्गका रूपमा रहेको नेपाल रेडक्रसमा हाल देशभर करिब १० लाखभन्दा बढी स्वयंसेवकहरू मानवीय सेवाका विविध कार्यहरूमा निरन्तर खटिएका छन्।

कार्यक्रममा सहभागीहरू ।
रेडक्रसले सरकारको सहयोगीका रूपमा संगठन विकास, जुनियर तथा युवा विकास, विपद् तथा संकट व्यवस्थापन, सामुदायिक विकास, लैङ्गिक तथा समावेशीकरण, मानवीय मूल्य प्रवर्द्धनका साथै स्वास्थ्य सेवा र रक्तसञ्चार (ब्लड बैंक) सेवा जस्ता अति आवश्यक गतिविधिहरू देशैभर सञ्चालन गरिरहेको सभापति आचार्यले बताए।
नेपाल रेडक्रसको ६४ औँ स्थापना दिवसका अवसरमा सुर्खेत जिल्ला शाखा र सुर्खेत आँखा अस्पतालले संयुक्त रूपमा विभिन्न मानवीय तथा चेतनामूलक कार्यक्रमहरू आयोजना गरेका थिए। ‘मानवताको लागि एकबद्ध होऔं’ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा कर्णालीका विभिन्न निकायका प्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका थिए।
प्रगति प्रतिवेदन र बजेट पारित
स्थापना दिवससँगै सम्पन्न सुर्खेत शाखाको ४५ औँ वार्षिक साधारण सभामा सुर्खेत जिल्लाका ९ वटै पालिकाका शाखा तथा उपशाखाका प्रतिनिधि र पर्यवेक्षकहरूको उपस्थिति रहेको थियो। सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक समीक्षा, भावी योजना तथा साङ्गठनिक विकासका विषयमा गहन छलफल गरिएको थियो। साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण (अडिट) प्रतिवेदन, आर्थिक वर्ष २०८३/८४ को प्रस्तावित वार्षिक कार्यक्रम र आर्थिक वर्ष २०८३/८४ को प्रस्तावित बजेट तथा अन्य साङ्गठनिक प्रस्तावहरू सर्वसम्मत रूपमा देहायका प्रतिवेदन तथा प्रस्तावहरू पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्