२०८३ भदौ २८ , आइतबार
स्थानीय खबर

चिकित्सक संघ सुर्खेतको अध्यक्षमा पौडेल निर्वाचित



सुर्खेत। नेपाल चिकित्सक संघ सुर्खेत शाखाको अध्यक्षमा डाक्टर खेचरनाथ पौडेल सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। संघको शुक्रबार सम्पन्न वार्षिक साधारण सभाले पौडेलको नेतृत्वमा नयाँ कार्यकारिणी समिति सर्वसम्मत रूपमा चयन गरेको हो। निर्वाचन अधिकारी डाक्टर पुजन बल्लाका अनुसार साधारण सभाले अध्यक्षसहित सम्पूर्ण पदाधिकारी र कार्यकारिणी सदस्यहरूलाई सर्वसम्मत रूपमा चयन गरेको हो।

सुर्खेत शाखाको कार्यकारणी समितिको वरिष्ठ उपाध्यक्षमा डाक्टर शुभ श्रेष्ठ, सचिवमा डाक्टर किशोरकुमार विष्ट, कोषाध्यक्षमा डाक्टर आकांक्षा राना, सह–सचिव डाक्टर भिष्मप्रसाद पोखरेल र सह–कोषाध्यक्षमा डाक्टर अनुप रेग्मी निर्वाचित छन् । त्यसै कार्यकारणी समितिको सदस्यमा डाक्टर सन्दिप महत, डाक्टर निर्मल रसाली, डाक्टर नजरा थापा, डाक्टर खिमकुमारी न्यौपाने र डाक्टर पूर्णप्रसाद शर्मा निर्वाचित भएको निर्वाचन अधिकारी डाक्टर पुजन बल्लाले जानकारी ।

नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघका निवर्तमान महासचिव सुशील समदर्शीले नयाँ नेतृत्वसमक्ष महत्त्वपूर्ण सुझाव र अपेक्षा राखेका छन्। उनले नवनिर्वाचित टोलीले चिकित्सकहरूको पेसागत हकहित, सुरक्षा र व्यावसायिक मर्यादाको संरक्षणमा सदैव अग्रसर हुनुपर्ने बताए। यसैगरी, भौगोलिक रूपमा विकट रहेको कर्णाली प्रदेशको समग्र स्वास्थ्य सेवा प्रणालीलाई थप सुदृढ, प्रभावकारी र जनमुखी बनाउने दिशामा नयाँ नेतृत्वले निरन्तर सकारात्मक योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरे। समदर्शीले आफ्नो निवर्तमान कार्यकाललाई सफल, फलदायी र पूर्ण सेवाभावका साथ सम्पन्न गर्न महत्त्वपूर्ण सहयोग पुर्‍याउने सम्पूर्ण निवर्तमान पदाधिकारी, सदस्य तथा सहयोगीहरूप्रति विशेष धन्यवाद एवं आभार व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८३ भदौ २० गते शनिबार