२०८३ भदौ २९ , सोमबार
भोटेकोशी बाढी

कर्णालीका एक जनाको मृत्यु, १९४ नागरिक अझै बेपत्ता



सुर्खेत। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण कर्णाली प्रदेशका एक जनाको मृत्यु भएको छ भने बुधबार बिहानसम्म १९४ जना नागरिक अझै परिवार तथा आफन्तको सम्पर्क बाहिर रहेका छन्। बाढीका कारण सञ्चार सेवा अवरुद्ध हुनुका साथै जलविद्युत् आयोजना क्षेत्रमा ठूलो क्षति पुग्दा यति ठूलो सङ्ख्यामा कर्णालीका नागरिकहरू बेपत्ता भएका हुन्।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपहिरोपछि आफन्तको सम्पर्कमा नरहेका कर्णालीका कुल २७० जनाको निवेदन तथा विवरण संकलन गरिएको थियो। तीमध्ये निरन्तरको खोजी र समन्वयपछि हालसम्म ७५ जना सकुशल सम्पर्कमा आएका छन् भने बाँकी १९४ जनाको अवस्था अझै अज्ञात छ।

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (DIG) जयराज सापकोटाका अनुसार हराइरहेका मध्ये अधिकांश रोजगारीका लागि रसुवा र नुवाकोट क्षेत्रका विभिन्न जलविद्युत् (हाइड्रोपावर) आयोजनाहरूमा कार्यरत मजदुरहरू रहेका छन्। “धेरै जना विभिन्न हाइड्रोपावरमा काम गर्न गएकाहरू छन् भने केही सरकारी जागिरेसमेत रहेको पाइयो,” डीआईजी सापकोटाले भने, “सम्पर्कविहीन भएकाहरूको खोजीका लागि विभिन्न संयन्त्रमार्फत प्रयासहरू निरन्तर जारी राखिएको छ।” प्रहरीको अद्यावधिक तथ्याङ्क अनुसार भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेमा सल्यानका एक जना नागरिक रहेका छन्। अझै बेपत्ता रहेका १९४ जनाको बेपत्ता छन् । बेपत्तामध्ये पुरुष १ सय ५९ जना, महिला २८ जना र ७ बालबालिका छन् । घरबाट टाढा पुगेर जलविद्युत् आयोजना र निर्माण क्षेत्रमा काम गर्नेमा पुरुष मजदुरको सङ्ख्या धेरै रहेकाले बेपत्ता हुनेमा पनि पुरुषकै सङ्ख्या अत्यधिक देखिएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीका १० वटै जिल्लाका नागरिकहरू यो विपद्बाट प्रभावित भएका छन्। जसमध्ये सबैभन्दा ठूलो क्षति र अन्योल जुम्ला जिल्लाका नागरिकमा देखिएको छ । तथ्यांक अनुसार जुम्लाका ८१ जना, सल्यानका ५५ जना, सुर्खेतका १६ जना, मुगुका ११ जना, रुकुम पश्चिमका ९ जना, हुम्लाका ७ जना, कालीकोटका ६ जना, दैलेखका ५ जना, जाजरकोटका ३ जना  र डोल्पाका २ जना छन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। स्थानीय प्रशासन, जलविद्युत् आयोजनाका प्रतिनिधि तथा प्रभावित परिवारहरूसँग निरन्तर समन्वय गरी सम्पर्कविहीनहरूको अवस्था पत्ता लगाउने प्रयास भइरहेको छ।

प्रहरीले कुनै पनि बेपत्ता व्यक्ति सम्पर्कमा आएमा वा उनीहरूबारे नयाँ जानकारी प्राप्त भएमा तत्काल नजिकैको प्रहरी कार्यालय वा सुरक्षा निकायमा खबर गरिदिन सर्वसाधारणलाई अपिल गरेको छ।

प्रकाशित मिति : २०८३ भदौ १७ गते बुधबार