सुर्खेत । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि वीरेन्द्रनगर नगरपालिकाले ५१ लाख रुपैयाँ छुट्याउने भएको छ। नगरपालिकाको ९१औँ कार्यपालिका बैठकले नगर विपद् व्यवस्थापन कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

नगर प्रमुख मोहनमाया भण्डारी ढकालका अनुसार बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति बैठकले दुःख व्यक्त गर्दै प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन सहयोग गर्ने निर्णय पनि गरेको छ। ‘विपत्तिको यस दुःखद घडीमा सरकार र बाढीपीडित नागरिकलाई सहयोग गर्नु हामी सबैको साझा कर्तव्य र दायित्व हो,’ नगर प्रमुख ढकालले भनिन्।
भोटेकोसीमा आएको आकस्मिक भीषण बाढीले विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रभावितको राहत तथा पुनःस्थापनाका लागि देशभरबाट सहयोग जुटिरहेको छ। वीरेन्द्रनगरले पनि विपद्को समयमा ऐक्यबद्धता जनाउँदै नगर विपद् व्यवस्थापन कोषबाट ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस्