सुर्खेत । सुर्खेतकी १६ वर्षिया इनिसा विकको मृत्यु प्रकरण मुद्धामा जोडिएका ३ जना नाबालकलाई सर्वोच्च अदालतले अभिभावकको जिम्मा लगाउन आदेश दिएको छ । सोमबार अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले नाबालकहरूलाई अभिभावकको जिम्मा लगाउन आदेश दिएको हो । यो आदेशसँगै सर्वाेच्चले यसअघि ती नाबालकहरुलाई बालसुधार गृह पठाउने सुर्खेत जिल्ला अदालत र उच्च अदालत सुर्खेतको आदेश बदर समेत बदर गरेको छ ।
सर्वाैच्चले नाबालकको बयान, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को अध्ययन प्रतिवेदन र घटनासँग सम्बन्धित कागज प्रमाणलाई आधार मान्दै तत्काल पूर्वपक्षका लागि बाल सुधार गृहमा नै राख्नुपर्नेसम्मको अवस्था नदेखिएको भन्दै अभिभावकको जिम्मा लगाउन आदेश दिएको हो ।
आदेशमा कानुनको विवादमा परेका ती नाबालकहरूले आरोप अस्वीकार गरेको, मुख्य आरोपी बालक वीरेन्द्रनगर (प) ले उनीहरूलाई घटनामा संलग्न रहेको भनी पोल नगरेको, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मुख्य आरोपी र नाबालकहरुबीच भएको फोन सम्वाद, इनिसा बेहोस भएपछि मात्रै नाबालकहरु उद्धार र सहयोगका लागि घटनास्थलमा पुगेको भनिएको समय, सम्पर्क समय र स्थान खुल्ने कल डिटेल प्रतिवेदनका साथै ट्राफिक कार्यालय, कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन विभाग, प्रदेश आयुर्वेद अस्पतालको सीसीटीभी फुटेज) समेतको विश्लेषण गरी दिएको प्रतिवेदन लगायत तत्काल प्राप्त कागज प्रमाणका आधारमा पुर्पक्षका लागि बालसुधार गृहमा नै राख्नुपर्ने अवस्था विद्यमान नरहेको निष्कर्ष निकालेको छ ।

सर्वाेच्चले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा २४ को उपदफा (२) को खण्ड (ख) बमोजिम बालकहरूलाई उनीहरूका बाबु, आमा वा परिवारका जिम्मेवार व्यक्तिको जिम्मा लगाई मुद्दाको कारबाही अघि बढाउन भनेको छ । तर मुद्दा किनारा नलागुञ्जेल अदालतले खोजेका बखत अनिवार्य रूपमा उपस्थित गराउनुपर्ने र अदालतको पूर्व अनुमति नलिई देश बाहिर जान नपाउने शर्तसमेत तोकिएको छ ।
गएको फागुन २३ गते घरबाट ट्युसन पढ्न निस्केकी इनिसा वीरेन्द्रनगर–४ को जनजागरण सामुदायक बनमा बेहोस अवस्थामा भेटिएकी थिइन् । घटनापछि प्रदेश अस्पताल पु¥याइएकी इनिसालाई चिकित्सकले मृत घोषणा गरेका थिए । घटना भएकै दिन प्रहरीले इनिसाका प्रेमी भनिएका १६ वर्षीय नाबालक वीरेन्द्रनगर (प) लाई सोही पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा प्रहरीले थप तीन जना नाबालकहरुलाई पनि नियन्त्रणमा लिएको थियो । इनिसाको मृत्युपछि आफन्त र अधिकारकर्मीहरुले सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै देशव्यापी रुपमा आन्दोलन गरेका थिए । सुर्खेतकै गुर्भाकोट–६ बडाखोली घरभई वीरेन्द्रनगर–१ मा बस्दै आएकी थिइन ।
गएको चैत १७ गते सुर्खेत जिल्ला अदालतले नाबालकहरुलाई पूर्वपक्षका लागि बालसुधार गृह पठाउन आदेश दिएको थियो । जिल्लाको आदेश चित्त नबुझेको भन्दै उनीहरु उच्च अदालत गएका थिए । तर गएको वैशाख २४ गते उच्च अदालत सुर्खेतले पनि जिल्लाकै आदेशलाई सदर गरेको थियो । त्यसपछि उनीहरु सर्वाेच्च पुगेका थिए । जबरजस्ती करणी गरी ज्यान मारेको अभियोग सम्बन्धिको मुद्दा अहिले पनि सुर्खेत जिल्ला अदालतमा विचाराधिन छ ।
प्रतिक्रिया दिनुहोस्