२०८३ भदौ २९ , सोमबार
भाेटेकाेशी बाढी-पहिराे

दान पेटिकामा संकलन भएकाे रकम बाढी पीडितलाइ



सुर्खेतमा दान पेटिकामा संकलन भएको ७ लाख ८ हजार ६ सय १८ रुपैयाँ भोटेकोशी बाढीपीडितको राहत, उद्धार र पुनस्र्थापनाकामा सहयोगका लागि ‘प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष’मा जम्मा गरिएको छ । वीरेन्द्रनगरको खड्का होटलले असहायहरुको सहयोगका लागि राखेको दान पेटिका (चन्दा बाक्स) मा संकलन भएको ७ लाख ८ हजार ६ सय १८ रुपैयाँ प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको हो ।

यस्तै होटलले १ लाख ५१ हजार थप सहयोग गरेकाे छ। दान पेटिका र थपिएको सहित गरेर कुल ८ लाख ५९ हजार ६ सय १८ रुपैयाँ एकमुष्ट काेषमा जम्मा गरिनेछ। आइतबार जिल्ला प्रशासन, प्रहरी र सुर्खेत उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको रोहबरमा दान पेटिका फोडिएकाे र संकलित रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष जम्मा गरिने होटल सञ्चालक खेमराज खड्काले जानकारी दिनुभयो ।

दान पेटिकामा जम्मा भएकाे रकम गन्दै

आइतबार बैंक बन्द भएका कारण सोमबार रकम खातामा जम्मा गरेर बैंक भौचर जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई बुझाइने छ । असहायहरुको सहयोगका लागि स्वर्गिय शिवराज खड्काले होटलमै चन्दा बाक्स रोखेका थिए ।

पछिल्लो तीन वर्षको अवधिमा होटलमा आएका ग्राहकहरुले चन्दा बाक्समा जम्मा गरेको रकम भोटेकोशी बाढीपछि देशमा ठूलो विपत्ति आएको भन्दै सहयोग प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिएको खड्काले बताउनुभयो ।

प्रकाशित मिति : २०८३ भदौ १४ गते आइतबार