२०८३ भदौ २९ , सोमबार
हिल्सा नाकामा अस्थायी क्वारेन्टिन राखिदै

हुम्लाका स्थानीय उत्पादन चीन निर्यात गर्न सहज हुने



सुर्खेत। नेपाल-चीन सीमा क्षेत्रअन्तर्गत हुम्लाको हिल्सा नाकामा नेपालतर्फबाट तत्कालका लागि अस्थायी क्वारेन्टिन स्थापना गरिने भएको छ। लामो समयदेखि हुम्लावासीले क्वारेन्टिन स्थापनाको माग गर्दै आए पनि जनशक्ति अभाव र नाका वर्षभरि नियमित सञ्चालन नहुने प्राविधिक समस्याका कारण स्थायी संरचना बन्न सकेको थिएन।

पशु सेवा विभागका अनुसार वर्तमान अवस्थामा हिल्सा नाकाबाट हुने सामानको आयात-निर्यात र नाका खुल्ने समयलाई ध्यानमा राखेर यो अस्थायी व्यवस्था मिलाउन लागिएको हो।

विभागको भर्खरै स्वीकृत कर्मचारी दरबन्दी संरचनाअनुसार हिल्सामै तत्काल स्थायी संरचनासहित जनशक्ति व्यवस्थापन गर्न कठिनाइ भएकाले वैकल्पिक मोडल अपनाइएको छ । नेपालगञ्जमा शाखा कार्यालय स्थापना गरी सोही शाखामार्फत हिल्सा नाकाको क्वारेन्टिन सेवा सञ्चालन गरिनेछ भने नाका सञ्चालनमा रहेका बेला नेपालगञ्ज शाखाबाट दुई जना कर्मचारी हिल्सा खटाइनेछ। नाका बन्द हुनासाथ क्वारेन्टिन बन्द गरी कर्मचारीहरूलाई नेपालगञ्ज नै फिर्ता बोलाइनेछ।

हुम्लावासीले विसं २०७० देखि नै हिल्सामा क्वारेन्टिन स्थापनाको माग गर्दै आएका थिए। चीनतर्फ कृषि तथा पशुजन्य वस्तु लैजान स्वास्थ्य तथा गुणस्तर परीक्षण प्रमाणपत्र अनिवार्य हुने भएकाले क्वारेन्टिन नहुँदा हुम्लाका रैथाने बाली, फलफूल, जडीबुटी तथा कृषि उत्पादन चीनतर्फ निर्यात हुन सकेका थिएनन्। कृषि विकास कार्यालय हुम्लाका प्रमुख चुणामणि पन्तका अनुसार अस्थायी रूपमा भए पनि क्वारेन्टिन सञ्चालनमा आएपछि स्थानीय किसान तथा व्यवसायीले आफ्ना उत्पादन चीनको बजारसम्म पुर्‍याउन पाउनेछन्। नाका खुलेका बेला हुने व्यापारिक चाप र निर्यातको अवस्था मूल्याङ्कन गरी भविष्यमा हिल्सामै स्थायी क्वारेन्टिन कार्यालय र जनशक्ति व्यवस्थापन गर्ने ठोस आधार तयार हुनेछ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले हिल्सा नाकाको सीमित सञ्चालन अवधि र व्यापारिक गतिविधिलाई ध्यानमा राखेर उपलब्ध जनशक्तिको अधिकतम उपयोग हुने गरी यो निर्णय गरिएको बताएका छन्।

प्रकाशित मिति : २०८३ भदौ १३ गते शनिबार